काठमाण्डौ । उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो पदबाट अलग भएका छन्।
बुधबार साँझ उनी बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष औपचारिक रूपमा राजीनामा पेश गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पद सम्हाल्ने सहमति भएसँगै हालको गैरदलीय सरकारबाट बाहिरिनुपर्ने दबाब तीव्र बन्दै गएको थियो। यही परिस्थितिका बीच उनले मन्त्री पद त्याग्ने निर्णय गरेका हुन्।
राजीनामाको विषयमा घिसिङले बुधबार नै पार्टी नेतृत्व र मन्त्रालयका कर्मचारीसँग आन्तरिक परामर्श गरेका थिए। यस क्रममा उज्यालो नेपाल पार्टीका केही नेताहरूले पद नछोड्न सुझाव दिए पनि उनले त्यसलाई स्वीकार गरेनन्।
बाहिर निरन्तर रूपमा राजीनामाको चर्चा चलिरहेकाले अब मन्त्रीको जिम्मेवारीमा बस्नु उपयुक्त नहुने निष्कर्षमा पुगेको घिसिङले निकटवर्तीहरूसँग बताएका थिए।


