काठमाण्डौ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको नेपाल एसबिआई बैंक शाखामा पुस २९ गते साँझ भएको ३ करोड ७ लाख रुपैयाँको लुटपाटमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेकामा बैंक रहेको घरधनी, स्थानीय तथा अन्य जिल्लाका व्यक्तिहरू छन्।
पक्राउ पर्नेमा काभ्रेका भागवत सिंह थापा, सिन्धुलीका चतुरमान बज्यु, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका मिलन गिरी, सिन्धुलीका विवेक मगर, छविलाल स्याङ्तान र एक नाबालक छन्। घटनामा संलग्नमध्ये छविलाल उक्त बैंक रहेको घरका घरधनी हुन्।
गत पुस २९ गते नकाब लगाएका समूहले बैंकमा प्रवेश गरी सुरक्षागार्डमाथि खुकुरी प्रहार गरी उनलाई घाइते बनाएका थिए। बैंकका कर्मचारी र सुरक्षागार्डलाई दुई कोठामा बाँधेर भल्टबाट पैसा झोला र बोरा भित्र राखेर जंगलतर्फ भागेका थिए।
प्रहरीका अनुसार, घटनास्थल नजिकैको गाडी नियन्त्रणमा लिइएको र अनुसन्धानका क्रममा बैंकमा लुटिएको २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरिएको छ। साथै नकाब, पञ्जा र नक्कली प्लाष्टिकको पेस्तोल पनि फेला परेको छ।
विशेषतः प्रहरीले गाउँलेको सहयोग र छिटो प्रतिक्रिया मार्फत घटनास्थलबाट छिटो सुरक्षाकर्मी र कर्मचारीलाई उद्धार गरेको थियो। घटनामा संलग्न मुख्य योजनाकारमा बैंक घरधनी छविलाल स्याङतान र उनका जेठान चतुरमान बज्यु रहेको पुष्टि भएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले बैंक लुट्ने योजना गत असोजमै बनाइएको देखाएको छ। उनीहरुले पुस २३ र २८ गते नै बैंक लुट्ने प्रयास गरेका थिए । जुन योजना परिस्थिति अनुकूल नभएपछि सफल हुन सकेको थिएन ।
यस घटनामा पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट पाँच दिनको हिरासत अनुमति दिइएको छ। प्रहरीले अझै अन्य संलग्न व्यक्तिको खोजी र अनुसन्धान जारी राख्ने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।