शनिबार, फाल्गुन २,२०८२ 05:06:40
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 05:06:40
Bizshala
Global IME Bank Limited

७५,००० हाराहारी मत ल्याएर जित्ने रिपोर्टपछि बालेन ढुक्क भएर झापा ५ पुगेको रहस्योद्घाटन !

७५,००० हाराहारी मत ल्याएर जित्ने रिपोर्टपछि बालेन ढुक्क भएर झापा ५ पुगेको रहस्योद्घाटन !
Shivam Cement

काठमाण्डौ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी ध्यान तानेको संसदीय निर्वाचन क्षेत्र झापा ५ मा रास्वपाका वरिष्ठ नेता तथा काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर बालेन(बालेन्द्र) साहले उम्मेद्वारी दिनका लागि आँट गर्नुको रहस्यहरु खुल्दै गएका छन् ।  

बिजशालाले उच्च स्रोतहरुसँगको विभिन्न चरणमा गरेको छलफल र कुराकानीअनुसार बालेन्द्र साहले झापा ५ मा उम्मेद्वारी दिनुअघि निकै गोप्य ढंगले मत सर्वेक्षण गरिएको थियो । सो क्रममा निकै शानदार जित हासिल गर्ने सर्वेक्षणको रिपोर्ट आएका कारण बालेनले निकै जोखिमपूर्ण निर्णय लिँदै झापा ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेको पाइएको छ ।  

यो क्षेत्र वर्षौदेखिको एमालेको लालकिल्ला हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको कोर एरिया मानिएको ठाउँमै भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारिएका साहले उम्मेद्वारी दिएपछि धेरैले त्यसलाई जोखिमपूर्ण निर्णय भन्दै आएका छन् । कतिपयले त रास्वपा सभापति रवि लामिछानेले बालेनलाई झापा ५ मा उम्मेद्वारी दिन लगाएर फसाएकोसम्मको आरोप लगाउन भ्याएका छन् । तर, ग्राउण्ड रियालिटी भने निकै फरक रहेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जेनजी आन्दोलन(विद्रोह)को १०० दिन पूरा भएपछि बालेनले विषय विज्ञसहितको एउटा व्यवसायिक टिम र आफ्नो कोर टिमलाई मिसाएर झापा ५ का विभिन्न क्षेत्रको ग्राउण्ड लेभलमा सर्वेक्षण गर्न खटाएका थिए । यसमा विगतदेखि नै मत सर्वेक्षण गर्दै आएका रास्वपाका नेता तथा प्रवक्ता मनिष झाको कम्पनीका दक्ष कर्मचारी तथा विज्ञहरु समेत सहभागी थिए ।  

सो टोलीले २ हप्ता समय लगाएर झापा ५ अन्तर्गत पर्ने क्षेत्रहरुको ग्राउण्ड लेभलमा गएर गोप्य मत सर्वेक्षण गरेको थियो । त्यो सर्वेक्षणमा सहभागीहरुले निकै सन्तुलित भएर सर्वसाधारणको धारणा बटुल्ने काम गरेको दाबी गरेका छन् । आग्रह पूर्वाग्रह नराखी सर्वेक्षणको काम गरेको समेत उनीहरुको जिकिर छ ।  

यो निर्वाचन क्षेत्रमा दमक नगरपालिकाका १ देखि १० सबै वडाहरु, कमल गाउँपालिकाका सबै ७ वडाहरु, गौरदह नगरपालिकाको वडानम्बर १ देखि ८ र गौरीगञ्ज गाउँपालिकाको वडानम्बर ३ देखि ६ पर्छन् । यी सबै क्षेत्रका शहरी इलाकादेखि ग्रामीण इलाका तथा भोट बैंक समेत मानिएका बस्तीहरुमा समेत घर घर पुगेर टोलीले मत सर्वेक्षण गरेको थियो । सो क्रममा निकटतम प्रतिद्वन्द्वीको रुपमा प्रतिस्पर्धामा आउनसक्ने उम्मेद्वारको भन्दा झण्डै तेब्बर बढी मतले बालेनले जित हासिल गर्नसक्ने सम्भावनासहितको रिपोर्ट तयार भएको थियो ।  

'हाम्रो मत सर्वेक्षणको रिजल्टअनुसार झापा ५ बाट बालेन साहले ७५ हजार हाराहारीको मतसहित शानदार जित हासिल गर्ने सम्भावना देखिन्छ ।' सर्वेक्षणमा सहभागी एक विज्ञले दाबीका साथ बिजशालासँग भने- 'हामीले सर्वेक्षणको काम गरेपछिको समयमा साहप्रतिको आकर्षण अझ बढेको देखिन्छ । यसले बालेनले निर्विकल्प रुपमा चुनाव जित्न सकिने सम्भावना देखिन्छ।'  

विषयविज्ञसहितको सर्वेक्षण टोलीको रिपोर्टलाई आधार बनाएरै बालेनले अरुको नजरमा निकै धेरै जोखिमपूर्ण मानिएको झापा ५ मा उम्मेद्वारी दिने र एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिड्ने निर्णय लिएका समेत देखिएको छ । 

'सर्वेक्षणको नतिजाकै कुरा गर्ने हो भने बालेन साहको निकटतम प्रतिद्वन्द्वीको रुपमा एमाले अध्यक्ष केपी ओली आउने देखिन्छ ।' ती अधिकारीले दाबीका साथ भने- 'एमालेको पक्षमा प्रत्यक्षतर्फ २५ देखि बढीमा ३० हजारसम्म मत आउने देखिन्छ ।'  

सर्वेक्षणअनुसार यो क्षेत्रमा कांग्रेस र नेकपाका उम्मेद्वारबीच तेश्रो स्थानका लागि कडा प्रतिस्पर्धा हुनसक्छ ।   

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

'मुख्य प्रतिस्पर्धा रास्वपा, एमाले, कांग्रेस र नेकपाका उम्मेद्वारबीच हुने देखिन्छ ।' ती अधिकारीले भने।  

विगतमा यो क्षेत्रमा राप्रपाको मत पनि राम्रै थियो । त्यसबेला राप्रपाका कार्यकर्ताले समेत ओलीलाई भोट हालेका थिए । तर यसपटकको परिस्थिति फरक रहेको देखिन्छ । स्थानीयहरुका अनुसा विगतमा ओलीलाई भोट दिएका राप्रपाका अधिकांश कार्यकर्ता र समर्थकले यसपटक बालेनसँग बाक्लै भेट गरिरहेका छन् । एमाले, कांग्रेस र नेकपाभित्रकै ठूलो तप्का समेत बालेनलाई सहयोग गरेर ओलीलाई हराउने अभियानमा सामेल छन् । यो क्रम रोकिएन भने चुनावी नतिजा अझ रोचक आउने सम्भावना देखिने सर्वेक्षकहरुको दाबी छ । 

ती अधिकारीले सर्वेक्षण हुँदाको समयकाल, त्यसबेलाको माहौल र चुनावी दौड सुरु भइसकेपछिका नतिजामा प्रभाव पर्ने घटनाक्रम विकसित भइसकेपछि आउनसक्ने परिणाममा केही तलमाथि हुनसक्ने र यो स्वभाविक हुने दाबी समेत गरेका छन् । 

'सर्वेक्षणको रिपोर्टले देखाएका संकेतहरुलाई आधार बनाएर हामीले अगाडि बढ्ने हो । उम्मेद्वारी दर्ता भइसकेपछि सञ्चालन हुने गतिविधि, विभिन्न पक्षबाट चालिनसक्ने अभियान, सामाजिक सञ्जालका हल्लाहरु, मतदाता प्रभावित पार्नसक्ने विभिन्न गतिविधि लगायतले यस्ता चुनावी परिणाम अन्तिममा प्रभावित हुनसक्छन ।' सर्वेक्षणमा सहभागी ती अधिकारीले भने-' अहिलेसम्मको अवस्थामा उलटफेर भएन भने बालेनको लोकप्रियता झनै बढ्दो देखिन्छ । एमाले लगायतका दलहरुको जवाफी अभियान र डिजीटल प्रतिवाद लगायतका कारण केही मतहरु प्रभावित हुनसक्ने विषय त स्वभाविक नै भइहाल्यो ।'  

सर्वेक्षणकै क्रममा केपी ओलीको बढी प्रभाव झापा ५ का सुकुम्बासी तथा विपन्न परिवारका बस्तीहरु रहेका समेत देखाएको छ । शहरी तथा शिक्षित बस्ने इलाका, युवा पुस्ता लगायतमा भने बालेनप्रतिको राम्रो क्रेज देखिएको छ । सोही रिपोर्टलाई आधार बनाएर अहिले बालेन टिमले एमाले र अन्य दल बलियो देखिएका क्षेत्रहरुलाई फोकस गरेर रणनीतिक मुभ लिइरहेको छ । यो क्रममा विपक्षीको प्रभाव क्षेत्रलाई भत्काउने रणनीतिमा अन्य दलका उम्मेद्वारहरु झै बालेन साह समेत अग्रसर देखिएका छन् । आपसी तीव्र स्तरको रस्साकस्सी र घमासान प्रतिस्पर्धा तथा केही प्रि-इलेक्सन सर्वेक्षणका नतिजाले संकेत गरेका सम्भावनाहरु लगायतले समेत झापा ५ सबैका लागि सबैभन्दा हट सिट हुने देखिन्छ । यो क्षेत्रको चर्चाले फागुन २१ को निर्वाचनमा सहभागी सयौं उम्मेद्वार र दर्जनौ क्षेत्रहरुलाई छायाँमा पार्ने देखिन्छ ।  

यस्तो थियो अघिल्लो निर्वाचनको मतपरिणाम

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ५२ हजार ३ सय १९ मत प्राप्त गर्दै निर्वाचित भएका थिए । उनका मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २३ हजार ७ सय ४३ मत हासिल गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलको मत संख्या ११ हजार ७ सय ४८ थियो ।

समानुपातिक प्रणालीतर्फ पनि एमालेले अग्रता लिँदै ३५ हजार ८ सय ७२ मत प्राप्त गरेको थियो । रास्वपाले १८ हजार २ सय ५ मत ल्याएर दोस्रो स्थानमा रहँदा, कांग्रेसले १६ हजार ८ सय ५९ मतसहित तेस्रो स्थानमा सीमित भएको थियो । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा–५ मा कुल १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन्, जसमध्ये करिब १० हजार मतदाता नयाँ थपिएका हुन् ।

यो पटक झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मै रहेका छन् । यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र अन्य दुई गरी एक लाख ६३ हजार ३७९ मतदाता छन् ।  

यस क्षेत्रमा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन् ।

के भन्छ ओलीको सचिवालय ?

एमाले अध्यक्ष केपी ओलीको सचिवालयका एक अधिकारीले भने बालेनको टिमले सर्वेक्षण गरेको भने पनि त्यो सत्य नभएको दाबी गरेका छन् । 'बालेनले चुनावको बेला मतदातामा खेल्नका लागि सर्वेक्षणको रिपोर्ट यस्तो भनेर भ्रम फैलाउन खोजेका हुन् ।' एमालेका ती नेताले बिजशालासँग भने-' यस्ता हल्लाले हाम्रा प्रतिबद्ध मतदाता यताउता हुँदैनन् । हेर्दै गर्नुहोला, ओलीले चाहिँ बरु ७०-७५ हजार बढी मतसहित शानदार जित निकाल्नुहुन्छ ।' 

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.