काठमाण्डौ । कुमारी बैंक लिमिटेडको नाफामा उछाल आएको छ । बैंकले चालु चावको दोस्रो त्रैमाससम्म २ अर्ब ७२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८८६.५० प्रतिशतले बढी हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने बैंकले २७ करोड ५७ लाख रुपैयाँबरारबको खुद नाफा कमाएको थियो ।
यस्तै बैंकले ६ अर्ब ७८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.६५ प्रतिशतले बढी हो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब २७ करोड रुपैयाँबाट बढेर १ अर्ब ६० करोड पुगेको छ ।
अघिल्लो आवमा ३ अर्ब २७ करोड रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर १ अर्ब ५० करोड रुपैयाँमा सीमित बनेको छ । रिटेन्ड अर्निङ २ अर्ब ९८ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको रिजर्भमा भने १६ अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको छ । ग्राहकहरुबाट बैंकले ३ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
खराब कर्जा अनुपात भने घटेको छ । अघिल्लो आवमा ६.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ६.९२ प्रतिशतमा झरेको छ ।
यस्तै बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९८ करोड रुपैयाँले ऋणात्मक छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २०.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५१.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८.६३ गुणा र तरलता अनुपात ३६.८३ प्रतिशत कायम भएको छ ।

