काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका दिन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै विदेशी पर्यटकको घुमफिरमा रोक लगाइने भएको छ। निर्वाचन आयोगका अनुसार मतदानको दिन देशभर सार्वजनिक यातायात तथा आन्तरिक उडान बन्द रहने भएकाले पर्यटकीय गन्तव्यतर्फको आवागमनमा अस्थायी प्रतिबन्ध लगाइएको हो।
निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थाबाट आउने विदेशी पाहुनाको सम्पूर्ण व्यवस्थापन आयोगले नै गर्नेछ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटल तथा होटलबाट विमानस्थलसम्म आवतजावत गर्ने पर्यटकका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सवारी पासको व्यवस्था मिलाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्वाचनको दिन अत्यावश्यक उद्धार तथा चार्टर्ड उडानबाहेक देशभरका आन्तरिक उडान बन्द रहनेछन्। अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालनमा रहने जनाइएको छ। अन्तर्राष्ट्रिय उडान प्रयोग गर्ने यात्रुले हवाई टिकटका आधारमा यात्रा अनुमति पाउने व्यवस्था गरिएको छ।
यता नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एड्भाइजरी जारी गर्दै नेपाल पर्यटनका लागि खुला रहेको जनाएको छ। बोर्डका अनुसार मतदानको दिन विमानस्थल–होटल आवतजावतका लागि सटल बस सेवा सञ्चालन गरिनेछ। साथै पर्यटक बोक्न इच्छुक कम्पनीलाई जिल्ला प्रशासन कार्यालयबाट सवारी पास उपलब्ध गराउन सिफारिसपत्र दिने व्यवस्था गरिएको छ।
निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सबै स्थल सीमानाका बन्द गरिने भए पनि निर्वाचन अवधिभर देशभरका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा महत्वपूर्ण ऐतिहासिक स्थल खुला रहने जनाइएको छ।

