काठमाण्डौ । अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको हत्या भएको चार दिन बितिसकेको छ। यो घटनाले मध्य पूर्वमा युद्धको नयाँ अध्याय खोलेको छ, जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीति दिनप्रतिदिन परिवर्तन भइरहेको छ। तर, सबैभन्दा ठूलो प्रश्न अझै अनुत्तरित छ-के अमेरिकाले ईरानको भूमिमा जमीनी सैनिक उतारेर ठूलो स्तरको आक्रमण गर्नेछ ?
युद्धको चौथो दिनसम्म पनि तेहरान र अन्य प्रमुख क्षेत्रहरूमा तीव्र हवाई हमला जारी छ। अमेरिका र इजरायलले ईरानको परमाणु तथा मिसाइल क्षमता नष्ट गर्ने मुख्य उद्देश्य राखेको बताएका थिए, तर खामेनेईको मृत्युपछि ट्रम्पको बयानहरूमा स्पष्ट परिवर्तन देखिएको छ। ट्रम्पले सामाजिक सञ्जाल तथा अन्तर्वार्तामा कहिले सीमित सैन्य लक्ष्यको कुरा गरेका छन्, त कहिले शासन परिवर्तन (regime change) को सम्भावनालाई इंगित गरेका छन्।
एक अन्तर्वार्तामा ट्रम्पले स्पष्ट भनेका छन्, “धेरै राष्ट्रपतिले भन्छन्-‘ईरानमा जमीनी सैनिक पठाइने छैन’, तर म त्यसो भन्दिनँ। म भन्छु, सम्भवतः हामीलाई आवश्यक नपर्ला, तर यदि पर्नुपर्यो भने पठाउन सक्छौं।” यसले जमीनी हमलाको ढोका खुला राखेको छ।
तर, रक्षा विश्लेषकहरू यो सम्भावनालाई निकै कम आँक्छन्। भारतीय रक्षा विश्लेषक प्रवीण साहनी (Pravin Sawhney) ले भनेका छन्, “वर्तमान परिस्थितिमा अमेरिकी सैनिकहरू ईरानको भूमिमा उतरने सम्भावना अत्यन्त न्यून छ। अमेरिकाले हमला त गरेको छ, तर जमीनी सेना उतार्नु सैन्य तथा राजनीतिक दुवै दृष्टिकोणबाट निकै कठिन हुनेछ।”
साहनीले दुई मुख्य कारण औंल्याएका छन्:
१. ईरानको विशाल भूभाग, जटिल पहाडी भूगोल र ठूलो जनसंख्या।
२. खामेनेईको मृत्युपछि ईरानभित्र देखिएको राष्ट्रिय एकता र प्रतिरोधको भावना।
अमेरिकी युरोपेली कमान्डका पूर्व उप-कमाण्डर जनरल चार्ल्स वॉल्डले पनि ठूलो स्तरको जमीनी घुसपैठको सम्भावना न्यून भएको बताएका छन्। उनले भनेका छन्, इराक र अफगानिस्तानको लामो युद्धबाट सिकेको पाठले अमेरिकी राजनीतिमा “बूट्स अन द ग्राउन्ड” (जमीनी सैनिक) प्रति गहिरो अनिच्छा छ। ट्रम्प प्रशासनका लागि मध्य पूर्वमा अर्को ठूलो जमीनी युद्ध घरेलु राजनीतिक जोखिमपूर्ण साबित हुन सक्छ।
हेरिटेज फाउन्डेसनका रणनीतिक विश्लेषक जेम्स जे काराफानोले पुरानो विश्लेषणमा चेतावनी दिएका थिए कि ईरानमा पूर्ण आक्रमण इराक २००३ भन्दा पनि जटिल र कठिन हुनेछ। ईरानको मजबुत सैन्य संरचना, IRGC (इस्लामिक रेभोल्युसनरी गार्ड कोर्प्स) र क्षेत्रीय सहयोगीहरू (जस्तै हिजबुल्लाह) ले लामो प्रतिरोध गर्न सक्छन्।
इराक युद्ध (२००३–२०११) को सम्झना अझै ताजा छ,जहाँ अमेरिकाले हवाई हमलाबाट सुरु गरे पनि अन्ततः जमीनी सेना पठाउनुपर्यो, जसमा ४,५०० भन्दा बढी अमेरिकी सैनिक मारिए र ३२,००० घाइते भए। ब्रिटेनले त्यसबेला साथ दिएको थियो, तर अहिले ईरानविरुद्धको हमलामा ब्रिटेनले प्रत्यक्ष भाग लिन अस्वीकार गरेको छ।
अटलांटिक काउन्सिलका पूर्व निर्देशक नेट स्वानसनले चेतावनी दिएका छन् कि सीमित हवाई हमला पनि क्रमशः जमीनी प्रतिबद्धतामा बदलिन सक्छ। यदि लक्ष्य शासन परिवर्तनसम्म पुग्यो भने, ईरानको प्रतिक्रिया र क्षेत्रीय अस्थिरताले अमेरिकालाई लामो, थकाऊ संघर्षमा फसाउन सक्छ।
ईरानले पनि आक्रामक प्रतिक्रिया दिइसकेको छ, अमेरिकी सैन्य अड्डाहरू, इजरायल, कतार, बहरेन, यूएई, सऊदी अरबलगायत क्षेत्रमा मिसाइल हमला गरेको दाबी गरेको छ। हिजबुल्लाहले इजरायलमा रकेट प्रहार गरेको छ, जसको जवाफमा इजरायलले बेरुतमा बमबारी गरेको छ।
प्रवीण साहनीको मूल्यांकन छ कि खामेनेईको मृत्युपछि ईरानमा राष्ट्रिय एकताको स्पष्ट चित्र देखिएको छ। यदि अमेरिकाले यस माहोलमा जमीनी सेना पठाउने निर्णय गर्यो भने, यो सैन्य र राजनीतिक दुवै स्तरमा घातक साबित हुन सक्छ।
अमेरिका-इजरायल गठबन्धनले ईरानको सैन्य क्षमता कमजोर पारेको भए पनि निर्णायक विजय हासिल गर्न सजिलो छैन। सैन्य इतिहासले देखाउँछ कि केवल हवाई हमलाबाट ठूलो र मजबुत देशमा सत्ता परिवर्तन वा पूर्ण जीतका उदाहरण निकै सीमित छन्। इराक २००३ मा पनि हवाई हमलाबाट सुरु भएको युद्ध अन्ततः जमीनी संघर्षमा बदलिएको थियो।
यो युद्ध अब द्विपक्षीय मात्र नभई मध्य पूर्वको व्यापक पुनर्सन्तुलनतर्फ उन्मुख देखिएको छ। राष्ट्रपति ट्रम्पको अन्तिम लक्ष्य के हुन्छ भन्नेमा धेरै निर्भर रहनेछ, के यो परमाणु/मिसाइल क्षमता नष्ट गर्ने सीमित अभियान हो, वा शासन परिवर्तनसम्म पुग्ने ठूलो युद्ध ? समयले मात्र जवाफ दिनेछ, तर जमीनी हमलाको सम्भावना अहिलेसम्म न्यून देखिन्छ, तर पूर्ण रूपमा असम्भव भने छैन।
यो युद्धले विश्व अर्थतन्त्र, तेल आपूर्ति र क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्न सक्छ। नेपालजस्ता देशहरूले पनि यसको अप्रत्यक्ष प्रभाव महसुस गर्न सक्छन्।
-(बीबीसी हिन्दीमा प्रकाशित सामाग्रीको नेपाली भावानुवाद)

