काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ बहुमत नजिकको जित हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको छ। पार्टीभित्रको तीव्र आन्तरिक छलफलपछि वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ ।
निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष मतपरिणाम बुझाएलगत्तै रास्वपाका शीर्ष नेताहरू सक्रिय रूपमा सरकार गठनको रणनीतिमा लागेका हुन्। पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले बीच भएको लगातार छलफलले चैत १३ गते प्रधानमन्त्री नियुक्ति र शपथ गर्ने प्रारम्भिक सहमति बनाएको छ। त्यसअघि चैत १२ गते सांसदहरूको शपथ गराउने तयारी छ।
मन्त्रालय घटाएर ‘स्मार्ट सरकार’ बनाउने योजना
रास्वपाले चुनावअघि नै सार्वजनिक गरेको वाचा पत्रअनुसार मन्त्रालय संख्या घटाएर १५–१८ मा सीमित गर्ने गृहकार्य सुरु गरेको छ। यसले सानो, प्रभावकारी र नतिजामुखी सरकार बनाउने पार्टीको रणनीति झल्काउँछ।
सरकार गठनसँगै मन्त्रिपरिषद् पनि १३ चैतमै गठन गर्ने तयारी भए पनि मन्त्रीहरूको अन्तिम टुंगो भने लागिसकेको छैन। यद्यपि शक्तिशाली मन्त्रालयहरूमा सम्भावित नामहरू भने सार्वजनिक हुन थालेका छन्:
-गृह मन्त्रालय: डिपी अर्याल
-अर्थ मन्त्रालय: स्वर्णिम वाग्ले
-परराष्ट्र मन्त्रालय: शिशिर खनाल
यसैगरी, सांसदहरू सोबिता गौतम, राजुनाथ पाण्डे, सस्मित पोखरेल, हरि ढकाल, शिव यादव लगायतलाई पनि मन्त्री बनाउनेबारे छलफल भइरहेको स्रोतले जनाएको छ।
विधान संशोधन गरेर बालेनलाई संसदीय दलको नेता
रास्वपाले बालेन्द्र शाहलाई औपचारिक रूपमा संसदीय दलको नेता बनाउन पार्टी विधान संशोधन गर्ने तयारी पनि गरेको छ। चुनावअघि नै उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएकाले सोही आधारमा सरकार गठनको बाटो खोल्न लागिएको हो।
अन्तर्राष्ट्रिय सन्देश दिने तयारी
प्रधानमन्त्रीको शपथ समारोहलाई भव्य र कूटनीतिक रूपमा महत्वपूर्ण बनाउने उद्देश्यले विदेशी राष्ट्राध्यक्षहरूलाई निम्ता दिने विषयमा पनि पार्टीभित्र छलफल भइरहेको छ।
एकल बहुमत सरकार, शक्ति सन्तुलनमा चासो
एकल बहुमतको नजिक पुगेपछि रास्वपा एकल सरकार गठनतर्फ अघि बढेको छ। तर, पार्टीभित्र शक्ति सन्तुलन, युवा नेतृत्वको प्रतिनिधित्व र कार्यक्षमता आधारमा मन्त्री चयन गर्ने विषयमा गम्भीर छलफल चलिरहेको छ।
सभामुख पद युवालाई दिने विषय पनि छलफलमा छ, तर कसलाई बनाउने भन्ने अझै टुंगो लागिसकेको छैन।
समग्रमा, रास्वपा नेतृत्वको नयाँ सरकार छिटो, सानो र प्रभावकारी संरचना सहित अघि बढ्ने संकेत देखिएको छ। अब चैत १३ गते हुने सम्भावित शपथसँगै देशको नयाँ राजनीतिक अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

