काठमाण्डौ । विश्व चर्चित अर्बपति Elon Musk लाई ट्विटर (हाल X) खरिद प्रक्रियाका क्रममा लगानीकर्तालाई भ्रमित बनाएको ठहर अमेरिकी अदालतले गरेको छ।
सन् २०२२ मा करिब ४४ अर्ब डलरमा ट्विटर खरिद गर्नुअघि मस्कले सार्वजनिक रूपमा गरेका केही अभिव्यक्ति र ट्वीटहरूका कारण कम्पनीको सेयर मूल्य प्रभावित भएको भन्दै लगानीकर्ताहरूले मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित संघीय अदालतको जूरीले मस्कले लगानीकर्तालाई भ्रामक सन्देश दिएको निष्कर्ष निकालेको हो।
विशेषगरी मस्कले ट्विटरमा ‘स्प्याम तथा बोट अकाउन्ट धेरै रहेको’ भन्दै सम्झौता “अस्थायी रूपमा रोकिएको” भन्ने अभिव्यक्ति दिएका थिए। जूरीले ती अभिव्यक्तिले बजारमा अन्योल सिर्जना गर्दै सेयर मूल्य घटाउन योगदान पुर्याएको ठहर गरेको छ।
लगानीकर्ताहरूले मस्कले जानाजानी कम्पनीको मूल्य घटाएर सस्तोमा सम्झौता पुनः वार्ता गर्न खोजेको आरोप लगाएका थिए। अदालतले सबै आरोपमा पूर्ण ठगी योजनाको पुष्टि नगरे पनि दुई प्रमुख अभिव्यक्तिमा उनी जिम्मेवार रहेको ठहर गरेको छ।
यस मुद्दामा क्षतिपूर्ति रकम अर्बौं डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ भने अन्तिम रकम निर्धारण हुन बाँकी छ। मस्कका वकिलहरूले भने उक्त फैसलाविरुद्ध अपिल गर्ने बताएका छन्।
यो फैसला उच्च प्रोफाइल व्यापारिक सम्झौतामा सार्वजनिक अभिव्यक्तिको प्रभाव कति ठूलो हुन सक्छ भन्ने दृष्टान्तका रूपमा पनि हेरिएको छ।

