काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
स्थानीयका लागि छुट्याइएकोमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्र बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिकाको वडा नं. ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरूलाई बाँडफाँड गरिनेछ ।
बाँकी ४ लाख ९० हजार कित्ता बझाङ्ग, जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाहरूका स्थायी बासिन्दाका लागि छुट्याइएको छ ।
यसैगरी सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुल्ला गरिनेछ । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा चैत २४ गतेसम्म रहनेछ । सबै सेयर बिक्री नभएमा ढिलोमा वैशाख ९ गतेसम्म आवेदन खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा चैत १५ गतेसम्म र ढिलोमा चैत २४ गतेसम्म कायम रहनेछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित आयोजनास्थल कार्यालय र तोकिएका विभिन्न बैंक शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयरमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध हुनेछ ।

