काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय तथा सुपरिवेक्षकीय क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय संस्था टोरोन्टो सेन्टरसँग छलफल भएको छ।
धितोपत्र बोर्ड र टोरोन्टो सेन्टरका प्रतिनिधिबीच कात्तिक ३० र मंसिर १ गते बोर्डको कार्यालयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
नेपालको धितोपत्र बजारको वर्तमान नियामकीय अवस्था मूल्याङ्कन गर्ने, विद्यमान चुनौती पहिचान गर्ने तथा नियमन र सुपरिवेक्षण प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्रभावकारी बनाउने उद्देश्यले छलफल गरिएको बोर्डले जनाएको छ।
छलफलमा धितोपत्र बजारको कानुनी तथा नियामकीय व्यवस्था, बजारको समग्र अवस्था, संस्थागत स्रोतसाधन, बजार सहभागीहरूको गतिविधि, वित्तीय उपकरण, बजार आचरण तथा लगानीकर्ताका गुनासा र उजुरी व्यवस्थापनका विषय समेटिएका थिए।
त्यस्तै, बजारमा हुने गतिविधिको प्रभावकारी निगरानी, सूचना प्रविधि पूर्वाधारको विकास, वित्तीय साक्षरता विस्तार तथा लगानीकर्ता संरक्षणका विषयमा समेत छलफल भएको छ।
कार्यक्रममा जलवायु परिवर्तन तथा वातावरणीय जोखिमले वित्तीय प्रणालीमा पार्न सक्ने प्रभाव र हरित वित्त (ग्रीन फाइनान्सिङ) प्रवर्द्धनका लागि भएका पहलहरूको पनि समीक्षा गरिएको थियो।
बोर्डका कार्यकारी निर्देशकलगायत उच्च पदस्थ कर्मचारीहरूले नेपालको पुँजीबजारको वर्तमान अवस्था, नियामकीय चुनौती तथा सुधारका आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए।
बोर्डले यस अन्तरक्रियाबाट संस्थागत क्षमता विकासका आवश्यकता पहिचान गर्न र आगामी दिनमा जोखिममा आधारित सुपरिवेक्षण प्रणालीसहितका नियामकीय अभ्यासलाई अन्तर्राष्ट्रिय असल अभ्यासअनुरूप थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।