काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना तथा चलनचल्तीका लागि अयोग्य बैंकनोट नष्ट गरेको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट संकलित झुत्रा, मैला, च्यातिएका तथा पुनः चलनचल्तीमा पठाउन नमिल्ने विभिन्न दरका नोट नष्ट गरिएको हो।
राष्ट्र बैंकले ती नोटलाई धुल्याएर ब्रिकेटमा परिणत गरेको जनाएको छ। यसरी नष्ट गरिएका नोटमा बजारबाट फिर्ता आएका र पुनः प्रयोग गर्न अयोग्य ठहरिएका बैंकनोट समावेश छन्।
ठूलो परिमाणमा नोट नष्ट गरिए पनि बजारमा चलनचल्तीमा रहेको कुल नगदको परिमाण भने बढेको छ।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए। २०८३ असार मसान्तसम्म आइपुग्दा यस्तो रकम ६ दशमलव ०८ प्रतिशतले बढेर करिब ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।
यसले डिजिटल भुक्तानीको प्रयोग विस्तार हुँदै गए पनि अर्थतन्त्रमा नगदको माग अझै उल्लेख्य रहेको देखाउँछ।
राष्ट्र बैंकले बैंकनोटको गुणस्तर र सुरक्षालाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसार नोटमा प्रयोग हुने सुरक्षा विशेषता तथा प्राविधिक पक्षलाई अद्यावधिक गर्दै लगिएको जनाएको छ।
यसैक्रममा बैंकनोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टिङ कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको छ।
केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षमा ५ रुपैयाँ दरका ३५ करोड थान बैंकनोट छपाइ तथा आपूर्ति भई राष्ट्र बैंकको ढुकुटीमा राखिएका छन्।
त्यसैगरी १० रुपैयाँ दरका ३४ करोड थान बैंकनोट छपाइ तथा आपूर्तिका लागि भएको सम्झौताअन्तर्गत पहिलो र दोस्रो चरणमा गरी २३ करोड थान नोट प्राप्त भएका छन्।
१०० रुपैयाँ दरका ३० करोड थान बैंकनोट आपूर्तिको सम्झौताअन्तर्गत २१ करोड थान नोट प्राप्त भई ढुकुटीमा राखिएका छन्।
यस्तै, ५०० रुपैयाँ दरका २३ करोड थान बैंकनोट छपाइ तथा आपूर्तिको सम्झौताअन्तर्गत पहिलो चरणमा १२ करोड थान प्राप्त भएका छन्।
राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान र १ हजार रुपैयाँ दरका ४३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि समेत सम्झौता गरेको जनाएको छ।
नयाँ नोटको मौज्दात पनि उल्लेख्य रूपमा बढेको छ। २०८३ असार मसान्तसम्म राष्ट्र बैंकसँग विभिन्न दरका गरी ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात रहेका छन्।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ थियो। यस आधारमा एक वर्षमा नयाँ नोटको मौज्दात करिब ३७ अर्ब ४२ करोड रुपैयाँले बढेको छ।
बजारमा नगदको माग व्यवस्थापन, पुराना तथा अयोग्य नोट विस्थापन र आवश्यकताअनुसार नयाँ नोट आपूर्ति गर्नु केन्द्रीय बैंकको नियमित मुद्रा व्यवस्थापन प्रक्रियाअन्तर्गत पर्छ।
राष्ट्र बैंकले नष्ट गरेको ७ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको रकम सरकारी खर्च वा वित्तीय नोक्सानी भने होइन। यो चलनचल्तीबाट फिर्ता आएका प्रयोग गर्न अयोग्य नोटको अंकित मूल्य हो। यस्ता नोट नष्ट गरेर आवश्यकताअनुसार नयाँ तथा प्रयोगयोग्य नोट बजारमा पठाइने गरिन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।