काठमाण्डौ । धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको अर्बौं रुपैयाँ हिनामिना प्रकरणका मुख्य आरोपित शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्।
गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत विश्वकर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको जानकारी दिएका हुन्।
गुरुङका अनुसार विश्वकर्मामाथि सहकारीको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।
बराह सहकारीका हजारौँ बचतकर्ताको रकम अपचलन भएको विषय लामो समयदेखि विवादमा रहँदै आएको छ। बचत फिर्ता नपाएपछि पीडितहरूले पटकपटक आन्दोलन र कानुनी कारबाहीको माग गर्दै आएका थिए।
गृहमन्त्री गुरुङले पूर्वी नेपालका बचतकर्ताले भोग्दै आएको पीडालाई सम्बोधन गर्न आफूले पदभार सम्हालेकै दिनदेखि आरोपितहरूको खोजीलाई तीव्र बनाएको बताएका छन्।
उनले धरानमा करिब ६ वर्षअघि 'सेभ घोपा' अभियानका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताको पीडा सुनेको स्मरण गरेका छन्।
‘अन्ततः ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका छौँ,’ गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले सहकारी प्रकरणमा संलग्न अन्य फरार आरोपितहरूको खोजी र कारबाही प्रक्रिया पनि तीव्र बनाइने बताएका छन्।
यसअघि बराह सहकारीको रकम अपचलन प्रकरणमा विश्वकर्मासहितका व्यक्तिविरुद्ध सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा दायर भएको थियो। अभियोगपत्रमा विश्वकर्मासँग सम्बन्धित ५ अर्ब ८८ करोड ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिनाको विवरण समावेश गरिएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।