काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ४ अर्ब १७ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म आर्जन गरेको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३६१.७६ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने बैंकले २८ करोड ५८ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि १७.८० प्रतिशतले बढेको छ । बैंकले ९ अर्ब ३० करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यस्तै बैंकको खुद सञ्चालन आम्दानी ५ अर्ब ३२ करोडबाट बढेर ११ अर्ब २४ करोड र सञ्चालन मुनाफा ८५ करोड ८३ लाखबाट बढेर ६ अर्ब ५० करोड पुगेको छ ।
यद्यपी बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ९८ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
खुद नाफा वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) पनि उल्लेख्य बढेको छ । बैंकको ईपीएस १.४५ रुपैयाँबाट छलाङ मार्दै २१.२४ रुपैयाँ कायम भएको छ । तेस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन ३ खर्ब ६४ अर्बबाट बढेर ३ खर्ब ८१ करोड पुगेको छ ।
यस्तै कर्जा प्रवाह पनि २ खर्ब ६० अर्बबाट बढेर २ खर्ब ७३ अर्ब पुगेको छ । बैंकले सम्भावित जोखिमका लागि १ अर्ब ५६ करोड रुपैयाँबराबरको इम्पेयरमेन्ट चार्ज छुट्टाएको छ । यो अवधिमा बैंकको खराब कर्जा अनुपात ६.९८ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा सीमित बनेको छ ।

