काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशको राजनीतिक परिवर्तन र दशकौँ लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई गर्वका रूपमा लिनुपर्ने भएपनि केही व्यक्तिहरू अझै त्यसै क्रान्तिलाई नकारात्मक रूपमा चित्रण गर्दै “अपराधीकरण” गर्ने प्रयासमा लागेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वमा भएको जनआन्दोलन, सशस्त्र संघर्ष र त्यसपछि स्थापित शान्ति प्रक्रियाको ऐतिहासिक महत्वबारे विस्तृत रूपमा धारणा राखे।
उनले गणतन्त्र, संघीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिहरूलाई दशकौँको संघर्षको परिणाम भएको बताए।
दाहालले संसद्मा बोल्दै आफ्नो भनाइलाई जोड दिँदै भने, “मैले तपाईंहरूलाई गणतन्त्रका फूल भनेको थिएँ।
शान्ति प्रक्रियाको पूर्णता अब मेरो मात्रै होइन, तपाईंहरूको पनि जिम्मेवारी हो।”
उनका अनुसार, सामन्तवादी संरचनाविरुद्ध गरिएको संघर्षको परिणामस्वरूप नै आज उत्पीडित, पिछडिएका र सीमान्तकृत समुदायका प्रतिनिधिहरू राज्यका उच्च तहमा पुग्ने अवसर पाएका हुन्।
उनले स्पष्ट शब्दमा भने, “सामन्तवादविरुद्ध उठाइएको संघर्षले ढोका नखोलेको भए अहिले उत्पीडित समुदायका प्रतिनिधिहरू मन्त्री बन्ने, संसद् प्रवेश गर्ने वा नीति निर्माणमा पुग्ने अवस्था नै आउँदैनथ्यो।”
उनले वर्तमान राजनीतिक संरचनामा देखिएको समावेशीता र समानुपातिक प्रतिनिधित्वलाई क्रान्तिको प्रमुख उपलब्धि भएको उल्लेख गरे।
दाहालले शान्ति प्रक्रियापछिको सामाजिक र राजनीतिक परिवर्तनलाई पनि स्मरण गरे।
विशेषगरी मधेसी आन्दोलनको प्रसंग उठाउँदै उनले त्यस समय काठमाडौंका भित्ताहरूमा मधेशी पहिचान, आत्मसम्मान र अधिकारका विषयमा गरिएको अभियानले ऐतिहासिक महत्व राखेको बताए।
उनका अनुसार, “शान्ति प्रक्रियापछिको समयमा काठमाडौंका भित्ताहरूमा मधेशी हुनुको गर्व स्थापित गर्ने अभियान सञ्चालन गरिएको थियो।
त्यो पहिलो पटक थियो जब मधेसले काठमाडौंमै उभिएर आफ्नो पहिचान र अधिकारको निर्भीक दाबी गरेको थियो।”
त्यसै क्रममा उनले हालका प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक उदयलाई पनि उल्लेख गरे।
दाहालले शाहको यात्रा स्थानीय तहको नेतृत्वदेखि संघीय सरकारसम्मको पहुँचलाई राजनीतिक परिवर्तनकै निरन्तरता र उपलब्धिको रूपमा व्याख्या गरे।
उनले भने, “बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको एउटा महत्वपूर्ण जीत हो।
पार्टी फरक भएपनि यो परिवर्तन आन्दोलनकै निरन्तरता हो।”
सम्बोधनको अन्त्यतिर दाहालले मुलुकको वर्तमान राजनीतिक उपलब्धिलाई सुरक्षित राख्दै त्यसलाई पूर्णता दिनु सबै राजनीतिक दलहरूको साझा जिम्मेवारी भएको उल्लेख गरे।
उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र परिवर्तनलाई संस्थागत गर्ने कार्यमा सबै पक्ष एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए।

