काठमाण्डौ । अघिल्लो दिन बढेको सेयरबजार आज घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४४ प्रतिशत अर्थात १२.३६ अंकले घटेर २ हजार ७४२.११ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ४६९.४८ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८९ करोड ८४ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ८२ करोड ८ लाख बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा (जय शम्भु) भन्छन्, ‘जबसम्म बजारमा भोल्युम आउँदैन तबसम्म बजार बढ्न सम्भव रहँदैन। अहिले लगानीकर्ताहरू अन्योल अवस्थामा छन्। सरकारले गरेको सम्पत्ति शुद्धिकरण छानबिनका कारणले बजार को भोल्युम घटाएको हो । बजार बढ्नका लागि कम्तीमा पनि १० अर्ब रुपैयाँ माथिको कारोबार हुन जरुरी छ। नेपाल राष्ट्र बैंकलाई अहिले ‘ग्रे लिस्ट’ मा कडाई गर्न बाध्य अवस्था छ, यसकारण बजार थप घट्न पुगेको छ । साथी अहिले बजार बढ्ने सिजन भएतापनि लगानी गर्ने व्यक्तिमा कन्फिडेन्स नभएका कारण बजार बढ्न सकेको छैन ।
उनले थपे, ‘जुन कुनै सेक्टरमा लगानी गर्ने वातावरण उचित नहुँदा अहिले घरजग्गा कारोबार समेत सुस्त भइरहेको छ। बजार अब तत्कालै बढ्ने अवस्थामा पनि छैन। केही समयसम्म साइडवेजमै चल्ने देखिन्छ । लगानीकर्ताहरूलाई ठूलो कारोबार गर्दा अहिले बैंकबाट समेत फोन आउने गरेको छ, यस्तो अवस्थामा लगानीका सबै सेक्टरहरू सुस्त गतिमा चल्ने देखिन्छ । बजार अब यो भन्दा तल पनि जाँदैन र माथि उक्लिन पनि तत्काल सम्भव छैन।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमध्ये अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूह आज ०.१४ प्रतिशतले बढ्यो । व्यापार समूह आज अपरिवर्ति रह्यो । होटल समूह आज सर्वाधिक अर्थात ०.८६ प्रतिशतले घट्यो ।
यस्तै, बैंकिङ समूह ०.५७ प्रतिशत, विकास बैंक ०.३१, फाइनान्स ०.२१, फाइनान्स ०.२१, हाईड्रो ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.२६, लघुवित्त ०.५०, निर्जीवन बीमा ०.४२ र अन्य समूह ०.३१ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात १७ करोड ७२ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिडी पावरको १५ करोड ७ लाख, बुङ्गल हाईड्रोको १३ करोड ५९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १३ करोड ३९ लाख र फस्र्ट माइक्रोफाइनान्सको ११ करोड ७५ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन। आज बुङ्गल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.२६ प्रतिशतले बढ्यो ।
यस्तै प्रभु बैंक डिबेञ्चर २०८७ को मूल्य ६.६२ प्रतिशत र लक्ष्मी बैंक डिबेञ्चर २०८६ को मूल्य ६.६२ प्रतिशतले बढ्यो ।
यो दिन अपर लोहरे खोलाको सेयरमूल्य सर्वाधिक अर्थात १४.९५ प्रतिशतले घट्यो । झापा इनर्जीको सेयरमूल्य पनि आज ८.११ प्रतिशत र माउन्टेन हाईड्रोको सेयरमूल्य ७.४० प्रतिशतले घट्यो ।

