काठमाण्डौ । नेपालको पुँजीबजारमा फेरि एउटा ठूलो अनुसन्धान सुरु भएको संकेत देखिएको छ । नेपाल प्रहरीको Central Investigation Bureau (सीआईबी) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई ५६ जना व्यक्तिको सेयर कारोबार रोक्का राख्न र विस्तृत कारोबार विवरण उपलब्ध गराउन औपचारिक पत्राचार गरेपछि बजार वृत्तमा तरंग सिर्जना भएको हो ।
सीआईबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको सम्भावित कसुरमा अनुसन्धान अघि बढाउँदै व्यवसायी दीपक भट्टसमेत प्रतिवादी रहेको प्रकरणसँग जोडेर ती व्यक्तिहरूमाथि निगरानी थालेको स्रोतले जनाएको छ । अनुसन्धानको दायरामा रहेका अधिकांश व्यक्ति बीमा, माइक्रो इन्स्योरेन्स, इन्भेष्टमेन्ट बैंकिङ तथा सेक्युरिटिज क्षेत्रसँग प्रत्यक्ष जोडिएका उच्च पदस्थ अधिकारी, सञ्चालक र लगानी समिति सदस्यहरू हुन् ।
सीआईबीले सेबोनलाई पठाएको पत्रमा उल्लेखित व्यक्तिहरूको सेयर कारोबार तत्काल रोक्का राख्न, उनीहरूको डिम्याट, कारोबार इतिहास, शेयर खरिद–बिक्री गतिविधि तथा सम्बन्धित वित्तीय विवरण उपलब्ध गराउन आग्रह गरिएको छ ।
अनुसन्धानको घेरामा परेकामध्ये Himalayan Reinsurance Limited, Nepal Micro Insurance, Himalayan Securities, Himalayan Investor Banker, Crest Micro Life Insurance, Guardian Micro Life Insurance, Protective Micro Insurance, Liberty Micro Life Insurance तथा Himalayan Life Insurance का सञ्चालक, सीईओ तथा लगानी समिति सदस्यहरू छन् ।
सीआईबी स्रोतका अनुसार अनुसन्धान विशेषगरी ‘इनसाइडर नेटवर्क’, संगठित सेयर कारोबार, सूचनाको दुरुपयोग तथा निश्चित कम्पनीहरूको सेयर मूल्य र कारोबारमा अस्वाभाविक गतिविधि केन्द्रित हुनसक्ने आशंका गरिएको छ । यद्यपि, सीआईबीले औपचारिक रूपमा अनुसन्धानको विस्तृत प्रकृति खुलाएको छैन ।
अनुसन्धानको सूचीमा Himalayan Reinsurance Limited का सीईओ उपासना पौडेलसहित राजीव मोर, सुभेच्छा खरेल, अमित मोर, सुभाष कुमार झुनझुनवाला र लगानी समिति सदस्य मनिष कुमार झा छन् ।
त्यस्तै, Nepal Micro Insurance का सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल तथा प्रविना दाहालमाथि पनि अनुसन्धानको दायरा विस्तार गरिएको छ ।
Himalayan Investor Banker का अध्यक्ष कपिलकुमार दाहालदेखि विभिन्न सञ्चालक तथा लगानी समिति सदस्यहरू, Guardian Micro Life Insurance का सीईओ चिरायु भण्डारीसहित सञ्चालकहरू तथा Protective Micro Insurance, Liberty Micro Life Insurance र Himalayan Life Insurance का विभिन्न उच्च अधिकारीहरू पनि अनुसन्धानको सूचीमा परेका छन् ।
पुँजीबजार वृत्तमा यो घटनालाई पछिल्लो समय बढ्दै गएको ‘नेटवर्क बेस्ड ट्रेडिङ’ र संस्थागत प्रभाव प्रयोग गरी हुने कारोबारमाथि राज्यको ठूलो निगरानीको रूपमा हेरिएको छ ।
विशेषगरी पछिल्ला केही वर्षमा माइक्रो इन्स्योरेन्स, रि–इन्स्योरेन्स तथा नयाँ सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा देखिएको अस्वाभाविक उतारचढाव, सीमित समूहबीचको केन्द्रित कारोबार र प्रभावशाली व्यक्तिहरूको सक्रियतामाथि नियामक तथा अनुसन्धान निकायको चासो बढ्दै गएको थियो ।
सीआईबीको पछिल्लो कदमले अब सेयर बजारको ‘हाइ-प्रोफाइल नेटवर्क’ माथि गहिरो अनुसन्धान सुरु भएको संकेत दिएको बजार विश्लेषकहरूको भनाइ छ । अनुसन्धानको निष्कर्षले नेपालको पुँजीबजारमा संस्थागत सुशासन, इनसाइडर ट्रेडिङ नियन्त्रण र नियामकीय निगरानीबारे नयाँ बहस जन्माउने देखिएको छ ।

