काठमाण्डौं । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो त्रिशूली–१ ले निर्माणको अर्को महत्वपूर्ण खुड्किलो पार गरेको छ ।
२१६ मेगावाट क्षमताको उक्त आयोजनामा बाँधको मुख्य संरचनामध्ये एक मानिने वियर गेट सफलतापूर्वक जडान तथा परीक्षण भएपछि आयोजना अब उत्पादन तयारीको थप नजिक पुगेको छ ।
आयोजनाले तीनवटा वियर गेटमध्ये पहिलो गेटको जडान र सञ्चालन परीक्षण सम्पन्न गरेको जनाएको छ ।
जलविद्युत आयोजनाको ‘हार्ट सिस्टम’ मानिने वियर गेटले नदीको बहाव व्यवस्थापन, बाँधमा पानीको सतह नियन्त्रण, अतिरिक्त पानीको सुरक्षित निकास तथा विद्युत उत्पादनका लागि पानीलाई सुरुङतर्फ मोड्ने महत्वपूर्ण भूमिका खेल्छ ।
त्यसैले यसको सफल परीक्षणलाई आयोजनाको प्राविधिक उपलब्धिमात्र नभई निर्माणको निर्णायक मोडका रूपमा हेरिएको छ ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु क्षेत्रमा बाँध तथा जल संरचना निर्माण भइरहेको यो आयोजना कोरियाली लगानी र प्रविधिमा अघि बढिरहेको छ ।
भूमिगत विद्युतगृह भने उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन छ ।
प्रत्यक्ष विदेशी लगानीमा निर्माण भइरहेका जलविद्युत आयोजनामध्ये सबैभन्दा ठूलो मानिने यस आयोजनाले नेपालमा विदेशी लगानीकर्ताको विश्वासको प्रतीकका रूपमा पनि स्थान बनाएको छ ।
२०७८ पुसबाट मुख्य निर्माण कार्य शुरु भएको आयोजनाले हालसम्म उल्लेखनीय भौतिक प्रगति हासिल गरेको छ ।
९.५ किलोमिटर लामो मुख्य सुरुङ खन्ने कार्य पूरा भइसकेको छ भने अहिले सुरुङभित्र कंक्रिट लाइनिङको काम भइरहेको छ ।
प्राविधिक रूपमा अत्यन्त जटिल मानिएको २९२ मिटर गहिरो भर्टिकल स्याफ्ट (ठाडो सुरुङ) निर्माणसमेत सफलतापूर्वक सम्पन्न भएको छ, जसलाई आयोजनाको अर्को ठूलो उपलब्धि मानिएको छ ।
विद्युतगृहको सिभिल संरचना निर्माण सकिएपछि अहिले टर्बाइन, जेनेरेटर तथा अन्य इलेक्ट्रो–मेकानिकल उपकरण जडानको काम तीव्र गतिमा अघि बढिरहेको छ ।
आयोजनाको समग्र भौतिक प्रगति हाल ८२ प्रतिशत पुगेको छ ।
त्रिशूली नदीमा सन् २०२४ र २०२५ मा आएको बाढीले निर्माण कार्य प्रभावित बनाए पनि आयोजनाले लक्ष्य परिवर्तन गरेको छैन ।
निर्माण कम्पनीले सन् २०२६ को अन्त्यसम्म सबै प्रमुख उपकरण जडान सम्पन्न गर्ने र सन् २०२७ को मध्यसम्म आयोजना व्यावसायिक उत्पादनमा लैजाने लक्ष्य दोहोर्याएको छ ।
करिब ६४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड युनिटभन्दा बढी विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ ।
अझ महत्वपूर्ण कुरा, आयोजनाले हिउँदमा समेत करिब १०४ मेगावाट ‘फर्म इनर्जी’ उपलब्ध गराउनेछ ।
नेपालमा अधिकांश जलविद्युत आयोजना वर्षायाममा बढी उत्पादन गर्ने र हिउँदमा उत्पादन घट्ने समस्याबाट ग्रस्त रहेकाले माथिल्लो त्रिशूली–१ को स्थिर ऊर्जा उत्पादन क्षमतालाई रणनीतिक महत्वका रूपमा हेरिएको छ ।
उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
आयोजनाले विद्युत खरिद–बिक्री सम्झौता ९पीपीए० समेत सम्पन्न गरिसकेको छ ।
ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतमले वियर गेट परीक्षण सफल हुनु आयोजना निर्माणको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै सरकारले आवश्यक सहजीकरण जारी राख्ने बताएका छन् ।
कोरियाली कम्पनी कोएनका कार्यकारी उपसभापति योङ कि लीले आयोजना निर्धारित लागत र समयमै सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङले आयोजनालाई नेपाल–कोरिया ऊर्जा सहकार्यको महत्वपूर्ण नमुनाका रूपमा चित्रण गर्दै भविष्यमा नेपाली जलविद्युत क्षेत्रमा थप कोरियाली लगानी आउने संकेत गरेका छन् ।
नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोनुङ किमले वियर गेट परीक्षणलाई आयोजनाको महत्वपूर्ण ‘माइलस्टोन’ भन्दै अब बाँकी कामलाई अझ तीव्रता दिइने बताएका छन् ।
नेपालले ऊर्जा आयातकर्ताबाट ऊर्जा निर्यातकर्तातर्फको यात्रा गरिरहेको वर्तमान अवस्थामा माथिल्लो त्रिशूली–१ केवल अर्को जलविद्युत आयोजना मात्र होइन, विदेशी लगानी, ऊर्जा सुरक्षा र निर्यातमुखी अर्थतन्त्रको सम्भावनासँग जोडिएको रणनीतिक परियोजनाका रूपमा हेरिएको छ ।

