काठमाण्डौ । चितवनको भरतपुर विमानस्थल अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिलाई उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी खाद्य सेवा दिएको भन्दै तीन लाख रुपैयाँ जरिवाना गरिएको छ।
घटना गृहमन्त्री सुधन गुरुङले ब्रेकफास्ट गर्ने क्रममा भएको हो। होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि उनले तत्काल गुनासो गरेका थिए।
गुनासोपछि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माको नेतृत्वमा खाद्य प्रविधि तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलको अनुगमन गरेको थियो।
निरीक्षणका क्रममा होटलको खाद्य भण्डारण, तयारी प्रक्रिया र प्रयोगमा रहेका सामग्रीहरूको समेत जाँच गरिएको थियो।
अनुगमनपछि टोलीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका खाद्यान्न प्रयोग तथा अस्वच्छ सेवा प्रवाह भएको निष्कर्ष निकालेको छ।
सोही आधारमा होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
त्यसैगरी, अनुगमनका क्रममा भेटिएका गुणस्तरहीन खाद्य सामग्रीहरू पनि तत्काल नष्ट गरिएको छ।
अधिकारीहरूका अनुसार खाद्य सुरक्षा मापदण्ड पालना नगर्ने होटल तथा रेष्टुरेन्टहरूमाथि आगामी दिनमा अझ कडा निगरानी र कारबाही गरिनेछ।
घटनापछि सम्बन्धित निकायले होटल व्यवसायमा खाद्य गुणस्तर र उपभोक्ता सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता फेरि उजागर भएको बताएका छन्।

