काठमाण्डौ । पछिल्ला दुई महिनायता पोखरा र गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।
भारतमा गर्मी बढ्नु, विद्यालय–कलेजमा बिदा हुनु, सहज सडक पहुँच, डिजिटल भुक्तानी प्रणाली र सामाजिक सञ्जालमार्फत पोखराको प्रचारले भारतीय पर्यटकलाई नेपालतर्फ आकर्षित गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ।
गण्डकी प्रदेश प्रवेश गर्ने भारतीय सवारीसाधनको संख्या पनि निरन्तर बढिरहेको छ।
स्याङ्जा प्रहरीले दिएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको जेठसम्म २० हजार ३१९ भारतीय सवारी गण्डकी भित्रिएका छन्।
व्यवसायीका अनुसार हाल दैनिक करिब एक हजार पाँच सय भारतीय सवारी पोखरा भित्रिने गरेका छन्।
भारतीय पर्यटकको बढ्दो चापसँगै पोखराका अधिकांश होटलको अकुपेन्सी करिब ९० प्रतिशत पुगेको छ।
होटल संघ पोखराका अनुसार हाल पोखरामा आउने पर्यटकमध्ये करिब ५० प्रतिशत भारतीय, ३० प्रतिशत आन्तरिक र २० प्रतिशत तेस्रो मुलुकका छन्।
फेवाताल, सराङकोट, विश्व शान्ति स्तूप, पुम्दीकोट, डेभिड फल्स, गुप्तेश्वर गुफा, विन्ध्यवासिनी मन्दिरलगायत पर्यटकीय स्थलमा भारतीय पर्यटकको उल्लेख्य भीड देखिएको छ।
धेरै भारतीय पर्यटक पोखरालाई मुक्तिनाथ यात्राको प्रवेशद्वारका रूपमा पनि प्रयोग गरिरहेका छन्।
मुस्ताङ प्रहरीका अनुसार चालू आर्थिक वर्षको जेठसम्म दुई लाख ४४ हजार ८८० विदेशी पर्यटक मुस्ताङ पुगेका छन्, जसमा करिब ९५ प्रतिशत भारतीय छन्।
जेठ महिनामा मात्रै झन्डै ९१ हजार विदेशी पर्यटक मुस्ताङ पुगेका थिए, जुन हालसम्मकै उच्च संख्या हो।
पर्यटन बोर्ड र निजी क्षेत्रले सञ्चालन गरेको भारत लक्षित प्रवर्द्धन अभियान, भारतमा क्यूआरमार्फत सहज भुक्तानीको व्यवस्था, धार्मिक पर्यटनप्रतिको आकर्षण तथा भारतीय भ्लगर र कन्टेन्ट क्रियटरले बनाएका भिडियोका कारण पनि पोखरा भारतीय पर्यटकको प्रमुख रोजाइ बनेको पर्यटन क्षेत्रका सरोकारवालाहरूले बताएका छन्।

