काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ। समृद्धि फाइनान्ससँग गाभिएपछि संयुक्त संस्थाको पूँजीकोष अवस्था नियामकीय मापदण्डअनुसार सुधार हुने देखिएकाले उक्त निर्णय गरिएको हो।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक गैरस्थलगत विवरणको सुपरिवेक्षकीय समायोजनपछि संस्थाको पूँजीकोष अनुपात तोकिएको न्यूनतम सीमाभन्दा निकै तल पुगेको थियो। त्यसपछि २०८१ माघ २३ गते बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम कारवाही गरिएको थियो।
यसबीच समृद्धि फाइनान्स कम्पनी लिमिटेड सँग गाभ्ने/गाभिने प्रक्रियाले अन्तिम स्वीकृति पाएपछि संयुक्त संस्थाको वित्तीय अवस्था पुनः मूल्याङ्कन गरिएको थियो। राष्ट्र बैंकका अनुसार २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा संयुक्त संस्थाको प्राथमिक पूँजी ६.०६ प्रतिशत तथा कुल पूँजीकोष अनुपात १०.८० प्रतिशत रहने देखिएको छ।
उक्त आधारमा समितिले असार १० गते गरेको निर्णयअनुसार समृद्धि फाइनान्ससँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागू हुने गरी पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरिएको राष्ट्र बैंकले जनाएको छ।
पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भई यही असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सञ्चालन हुन गईरहेको छ । एकीकृत कारोबार सुरु गर्न आवश्यक प्रणाली एकीकरणका लागि असार २५ गते एक दिन दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको छ।
मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका–२८, पुतलीसडकमा रहनेछ, जुन पहिले समृद्धि फाइनान्सको कार्यालय रहेको स्थान हो।

