मंगलवार, श्रावण १२,२०८३ 01:01:34
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 01:01:34
Bizshala
Global IME Bank Limited

विश्व ऊर्जा मार्ग फेरि असुरक्षित, हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार

विश्व ऊर्जा मार्ग फेरि असुरक्षित, हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार
New Office

काठमाण्डौ। विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक हर्मुज जलघाँटीमा फेरि सुरक्षा तनाव चुलिएको छ। ओमानको लिमाह क्षेत्रनजिकै मङ्गलबार बिहान दक्षिणतर्फ गइरहेको एक ट्याङ्करमाथि प्रोजेक्टाइल प्रहार हुँदा जहाजमा आगलागी भएको बेलायती समुद्री सुरक्षा निकायले जनाएको छ।

युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन्स ९यूकेएमटीओ० का अनुसार ट्याङ्करको बायाँ भागमा प्रहार भएको थियो। घटनापछि जहाजमा आगो लागेको भए पनि मानवीय क्षति वा वातावरणीय प्रदूषणको विवरण आएको छैन। सम्बन्धित निकायहरूले घटनाबारे अनुसन्धान अघि बढाएका छन्।

इरानी सरकारी टेलिभिजनले कतारबाट प्राकृतिक ग्यास बोकेको एलएनजी ट्याङ्कर चेतावनी बेवास्ता गरेपछि आक्रमणमा परेको जनाएको छ। तर, आक्रमणको जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन। पछिल्ला दिनमा इरानले हर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई आफूले स्वीकृत गरेको समुद्री मार्ग प्रयोग गर्न चेतावनी दिँदै आएको थियो।

हर्मुज जलघाँटी पर्सियन गल्फ र ओमानको खाडी जोड्ने रणनीतिक मार्ग हो। विश्वको ठूलो हिस्सा तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यहाँको सानो सुरक्षा जोखिमले पनि अन्तर्राष्ट्रिय ऊर्जा बजार, ढुवानी लागत र बीमा प्रिमियममा प्रत्यक्ष प्रभाव पार्ने गर्छ।

अमेरिका र इरानबीच जलमार्ग खुला राख्ने, इरानको विवादास्पद आणविक कार्यक्रम सीमित गर्ने र युद्धविरामलाई दीर्घकालीन सम्झौतामा रूपान्तरण गर्ने प्रयास जारी रहे पनि पछिल्लो घटनाले वार्ताको वातावरण थप जटिल बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौतामा आउन आग्रह गर्दै त्यसो नभए कडा कदम चालिने चेतावनी दिएका छन्।

यसअघि अस्थायी सहमतिअनुसार ६० दिनसम्म जहाजहरूलाई शुल्क नलिई आवतजावत गर्न दिने व्यवस्था भएको थियो। तर, इरानले भविष्यमा समुद्री मार्गको नियन्त्रण र शुल्क असुलीको अधिकार आफूमा कायम रहनुपर्ने अडान दोहोर्‍याएको छ। अमेरिका र खाडी क्षेत्रका धेरै मुलुकले भने त्यस्तो व्यवस्थालाई स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

यसैबीच, इरानमा दिवङ्गत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम जारी छ। तेहरान र क्युममा ठूलो संख्यामा समर्थकहरू सहभागी भएका छन्। खामेनीका छोरा तथा नयाँ सर्वोच्च नेता मानिएका आयतुल्लाह मोहतबा खामेनी भने हालसम्म सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

खामेनीको अन्तिम दफन कार्यक्रम उनको जन्मस्थल मसहदस्थित इमाम रेजा दरबार क्षेत्रमा जुलाई ९ मा गर्ने तयारी छ। राष्ट्रिय शोक र सुरक्षा सतर्कताका कारण इरानका विभिन्न क्षेत्रमा दैनिक गतिविधि, सडक र हवाई सेवामा असर परेको छ।

हर्मुजमा भएको पछिल्लो प्रहारले इरान–अमेरिका तनावलाई फेरि ऊर्जा सुरक्षाको केन्द्रमा ल्याइदिएको छ। युद्धविराम, समुद्री मार्गको नियन्त्रण र ऊर्जा आपूर्तिको सुनिश्चितताबीचको शक्ति संघर्ष अब खाडी क्षेत्रको मात्र होइन, विश्व बजारकै मुख्य जोखिम बनेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.