सोमबार, श्रावण १८,२०८३ 04:48:20
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:48:20
Bizshala
Global IME Bank Limited

तीन वर्षदेखि बजेट, काम शून्य : सुदूरपश्चिमको धुलो दुध कारखाना अझै कागजमै

तीन वर्षदेखि बजेट, काम शून्य : सुदूरपश्चिमको धुलो दुध कारखाना अझै कागजमै
New Office

 

काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा धुलो दुध कारखाना स्थापना गर्ने भन्दै तीन वर्षदेखि लगातार बजेट विनियोजन गर्दै आएको छ । तर, बजेट भाषण र वार्षिक कार्यक्रममा दोहोरिँदै आएको यो योजना अहिलेसम्म कार्यान्वयनको प्रारम्भिक चरणमै अल्झिएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पनि सोही योजनालाई निरन्तरता दिएको छ । अघिल्ला वर्षहरूमा विनियोजन भएको बजेट खर्च हुन नसके पनि सरकारले फेरि विभिन्न शीर्षकमा रकम छुट्ट्याएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डलाई कारखाना स्थापना र सञ्चालनको जिम्मेवारी दिइएको छ । तर, बोर्ड आफैँ कानुनी र संरचनात्मक जटिलतामा फसेको छ । बोर्डका निर्देशक श्यामसिंह खड्काका अनुसार उद्योग स्थापना र सञ्चालनका लागि आवश्यक कानुनी आधार तयार नभएकाले काम अघि बढ्न सकेको छैन ।

‘कानुनी आधार र पूर्वतयारी नहुँदा जग्गा खोज्ने कामसमेत अगाडि बढ्न सकेन,’ खड्काले भने ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले धुलो दुध कारखानासम्बन्धी विभिन्न ६ शीर्षकमा कुल ४ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा धुलो दुध कारखाना स्थापना शीर्षकमा मात्रै ४ करोड २५ लाख रुपैयाँ छुट्ट्याइएको छ ।

त्यसैगरी सम्भाव्यता अध्ययनका लागि ८ लाख ५० हजार, डीपीआर निर्माणका लागि १७ लाख, सरोकारवालासँग छलफल तथा कार्ययोजना तयारीका लागि ३ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । पाउडर प्लान्टसम्म दुध ढुवानी गर्न लागत साझेदारीका लागि ५ लाख १० हजार र कारखाना सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्न १ लाख २८ हजार रुपैयाँ बजेटमा राखिएको छ ।

यो परियोजना नेपाल सरकारको विशेष अनुदानमार्फत तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि सारिएको थियो । तर, तीन वर्ष बितिसक्दा पनि न जग्गा टुंगिएको छ, न डीपीआर बनेको छ, न त सञ्चालनको कानुनी संरचना नै तयार भएको छ ।

निर्देशक खड्काका अनुसार यसअघि दुग्ध विकास बोर्डको कार्यालय नै स्थापना नभएकाले पनि कामले गति लिन सकेन । ‘अहिले बोर्डको कार्यालय स्थापना भई अस्तित्वमा आएको छ । आगामी आर्थिक वर्षमा हामी जसरी पनि पूर्वतयारीका कामहरू सकाउने लक्ष्यमा छौँ,’ उनले भने ।

यसअघि आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकारको विशेष अनुदानबाट यो योजनाका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको थियो । त्यतिबेला दुग्ध विकास संस्थानसँग मिलेर कारखाना सञ्चालन गर्ने मौखिक सहमति भए पनि त्यसलाई कार्यान्वयन गर्ने लिखित सम्झौता, कार्यविधि वा स्पष्ट मोडालिटी बन्न सकेन । लिखित आधार नहुँदा सो रकम खर्च हुन नसकी फ्रिज भएको थियो ।

सुदूरपश्चिममा मिल्क पाउडर प्लान्ट नहुँदा धेरै दुध उत्पादन हुने समयमा किसानले बिक्रीको समस्या खेप्दै आएका छन् । कतिपय अवस्थामा दुध सडकमा पोख्नुपर्ने र मिल्क होलिडे सहनुपर्ने बाध्यता किसानमाथि दोहोरिँदै आएको छ ।

कारखाना स्थापना भएमा बढी उत्पादन भएको दुध प्रशोधन गरी पाउडर बनाउन सकिने, किसानले बजार र मूल्य पाउने तथा प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने आधार तयार हुने अपेक्षा गरिएको छ । तर, सरकारको कमजोर तयारी, कानुनी अस्पष्टता र कर्मचारीतन्त्रको ढिलासुस्तीका कारण सम्भावना बोकेको योजना वर्षौंदेखि बजेट पुस्तिकामै सीमित बनेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.