काठमाण्डौ । उचित वैकल्पिक व्यवस्थापन नगरी सुकुम्वासी बस्ती हटाइएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ।
मोर्चाको आह्वानमा आइतबार काठमाडौंको माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले सुकुम्वासी र भूमिहीन नागरिकलाई बलपूर्वक विस्थापित गर्ने काम तत्काल रोक्न माग गरेका हुन्। उनीहरूले राज्यले नागरिकको आवासको अधिकार सुनिश्चित गर्नुको सट्टा थप असुरक्षित बनाएको आरोप लगाए।
शनिबार बिहान कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ बस्दै आएका परिवारहरू पुनः विस्थापित भएका थिए। पर्याप्त सुरक्षा र वैकल्पिक आवासको व्यवस्था नहुँदा बालबालिका, महिला तथा ज्येष्ठ नागरिकसहितका परिवार समस्यामा परेको मोर्चाले जनाएको छ।
सोही दिन साँझ सुकुम्वासीको पक्षमा आवाज उठाउने जेन–जी अभियन्तालाई प्रहरीले गिरफ्तार गरेपछि आन्दोलन थप चर्किएको प्रदर्शनकारीहरूको भनाइ छ।
प्रदर्शनमा सहभागीहरूले गिरफ्तार अभियन्तालाई तत्काल रिहा गर्न, विस्थापित परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्न र दीर्घकालीन सुकुम्वासी समस्या समाधानका लागि स्पष्ट नीति ल्याउन सरकारसँग माग गरेका छन्।
मोर्चाले आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

