काठमाण्डौ । जेनजी अभियानी माजिद अन्सारीमाथि कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको घटनाविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।
जेनजी मुभमेन्ट अलायन्सले सोमबार सरकार, गृह प्रशासन र नेपाल प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता गराएको हो।
अलायन्सले गत शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा खटिएको प्रहरी टोली तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयको समन्वयमा खटिएको प्रतिनिधि बताउने ओजस्वी थापाविरुद्ध समेत उजुरी दिएको जनाएको छ।
उजुरीमा थापाले प्रहरीलाई निर्देशन दिई परिचालन गरेको आरोप लगाइएको छ। घटनाबाट नेपालको संविधानको धारा १६, १७, २० र २२ ले प्रत्याभूत गरेका मौलिक हक उल्लंघन भएको अलायन्सको दाबी छ।
अन्सारीलाई कुटपिट गरी नियन्त्रणमा लिने कार्यबाट सम्मानपूर्वक बाँच्न पाउने हक, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता तथा न्यायसम्बन्धी हक उल्लंघन भएको उजुरीमा उल्लेख छ।
अलायन्सले घटनासँग सम्बन्धित भिडिओ, कीर्तिपुर अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा त्रिवि शिक्षण अस्पतालको उपचारसम्बन्धी प्रतिवेदन पनि आयोगमा बुझाएको छ।
अन्सारी हाल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।