सोमबार, असार २९,२०८३ 08:38:01
Bizshala
  • सोमबार, असार २९,२०८३ 08:38:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरमा जोखिम, मुद्दतीमा न्यून ब्याजः डिबेञ्चर बन्यो बीचको बाटो !

Laxmi Sunrise Bank Limited
सेयरमा जोखिम, मुद्दतीमा न्यून ब्याजः डिबेञ्चर बन्यो बीचको बाटो !

काठमाण्डौ । पछिल्लो समय दोस्रो बजारमा बैंक तथा वित्तीय संस्थाले जारी गरेका डिबेञ्चर अर्थात् ऋणपत्रको कारोबार अस्वाभाविक रूपमा बढ्न थालेको छ। सूचीकृत कम्पनीका सेयर मूल्य निरन्तर दबाबमा रहेका बेला बजारको कारोबार रकम भने केही ठूला डिबेञ्चर कारोबारकै कारण उच्च देखिन थालेको हो।

नेपाल स्टक एक्सचेन्जको फ्लोरसिट हेर्दा पछिल्ला दिनमा केही डिबेञ्चरको मूल्य र कारोबार परिमाण दुवै बढेका छन्। यसको अर्थ सर्वसाधारण लगानीकर्ता ठूलो संख्यामा डिबेञ्चरतर्फ दौडिएका हुन् भन्ने मात्र होइन। बजारमा एकातिर डिबेञ्चर बेच्नुपर्ने संस्थाहरूको आपूर्ति बढेको छ भने अर्कोतिर निश्चित र तुलनात्मक रूपमा आकर्षक प्रतिफल खोजिरहेका बीमा कम्पनी तथा अन्य संस्थागत लगानीकर्ताको मागसमेत तीव्र बनेको छ।

विश्लेषकहरूका अनुसार अहिले डिबेञ्चर बजारमा देखिएको सक्रियता माग र आपूर्ति दुवै पक्षबाट सिर्जना भएको हो।

New Office
CG Motors
Garima Development Bank

अवकाश कोष बिक्रीतर्फ, बीमा कम्पनी खरिदतर्फ

सेयर बजार विश्लेषक कृष्ण गिरीका अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीको अवकाश कोषसम्बन्धी पछिल्लो व्यवस्थाले डिबेञ्चरको कारोबार बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीका अवकाश कोषलाई सामाजिक सुरक्षा कोषमा लैजान समयसीमा तोकिएपछि ती कोषले आफ्नो लगानी पुनःव्यवस्थापन गरिरहेका छन्। असार मसान्तसम्म कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा रकम राख्न पाउने व्यवस्था रहे पनि त्यसपछि नयाँ योगदान सामाजिक सुरक्षा कोषमा लैजानुपर्ने भएपछि अवकाश कोषले आफ्नो पोर्टफोलियो समायोजन गर्न थालेका हुन्।

यसअघि बैंक तथा वित्तीय संस्थाका विभिन्न अवकाश कोषले ठूलो रकम डिबेञ्चरमा लगानी गरेका थिए। अहिले त्यस्ता केही कोष डिबेञ्चर बिक्रीतर्फ देखिएका छन्। यसले दोस्रो बजारमा ऋणपत्रको आपूर्ति बढाएको छ।

अर्कोतर्फ पर्याप्त लगानीयोग्य रकम भएका बीमा कम्पनी, म्युचुअल फन्ड तथा अन्य संस्थागत लगानीकर्ता उपलब्ध डिबेञ्चर खरिद गर्न सक्रिय बनेका छन्।

“अवकाश कोषले लगानी व्यवस्थापन गर्दा बजारमा डिबेञ्चरको आपूर्ति बढेको छ,” गिरीले भने, “बीमा कम्पनीलगायत संस्थागत लगानीकर्तासँग लगानीयोग्य रकम प्रशस्त छ। मुद्दती निक्षेपको ब्याजदर न्यून भएकाले उनीहरूले तुलनात्मक रूपमा बढी प्रतिफल दिने डिबेञ्चर खरिद गरिरहेका छन्।”

यसले बजारमा स्पष्ट तस्वीर बनाएको छ-अवकाश कोष बिक्रेता र बीमा कम्पनीलगायतका संस्था खरिदकर्ता बनेका छन्।

डिबेञ्चरमा बढी प्रतिफल

डिबेञ्चरप्रति संस्थागत आकर्षण बढ्नुको अर्को प्रमुख कारण बैंकको मुद्दती निक्षेपमा आएको तीव्र ब्याजदर गिरावट हो।

पछिल्लो समय बैंकहरूले संस्थागत मुद्दती निक्षेपमा दिने ब्याजदर न्यून विन्दुमा झरेको छ। यस्तो अवस्थामा ठूलो रकम बैंकमा राख्दा अपेक्षित आम्दानी नहुने भएपछि संस्थाहरू वैकल्पिक स्थिर आयका उपकरण खोज्न थालेका हुन्।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालका अनुसार बैंकमा रकम राख्दा न्यून ब्याज मात्र पाइने भएकाले ठूला संस्थागत लगानीकर्ताको ध्यान डिबेञ्चरतर्फ गएको हो।

उनका अनुसार दीर्घकालीन लगानीमा बैंक निक्षेपभन्दा केही बढी प्रतिफल प्राप्त हुने सम्भावना भएकाले संस्थागत लगानीकर्ताले डिबेञ्चरलाई प्राथमिकता दिन थालेका छन्।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री पनि अहिलेको ब्याजदरमा मुद्दती निक्षेपमा मात्र रकम राख्नु संस्थाका लागि आकर्षक नदेखिएको बताउँछन्।

“अहिले बैंकको मुद्दती निक्षेपको ब्याजदर हेर्दा लगानी गर्नु र नगर्नुको औचित्य नै कमजोर हुने अवस्था छ,” उनले भने, “बीमा कम्पनीको ठूलो रकम मुद्दती निक्षेपमा रहे पनि कम्पनीले प्रतिफल हेर्नुपर्छ। डिबेञ्चरबाट मुद्दती निक्षेपभन्दा बढी प्रतिफल आउने भएकाले बीमा कम्पनीहरूले खरिद बढाएका छन्।”

बीमा कम्पनीसँग दीर्घकालीन दायित्व हुने भएकाले नियमित ब्याज आम्दानी दिने उपकरण आवश्यक पर्छ। डिबेञ्चरले निश्चित अवधिमा ब्याज उपलब्ध गराउने र परिपक्वतामा साँवा फिर्ता हुने भएकाले यस्तो लगानी उनीहरूको दायित्व व्यवस्थापनसँग पनि मेल खान्छ।

सेयर बजारको अनिश्चितताले ऋणपत्रतर्फ मोडियो पैसा

पछिल्लो समय सेयर बजारमा लगातार उतारचढाव र गिरावट देखिएको छ। सूचीकृत कम्पनीका सेयर मूल्य घटिरहेका छन् भने बजारको भावी दिशाबारे लगानीकर्ता स्पष्ट छैनन्।

यस्तो अनिश्चित वातावरणमा ठूला संस्थाहरू उच्च जोखिम लिएर सेयरमा थप लगानी गर्नुभन्दा नियमित आम्दानी दिने ऋणपत्रतर्फ मोडिएको विश्लेषण गरिएको छ।

सेयरमा लाभांश र पुँजीगत लाभ सुनिश्चित हुँदैन। तर डिबेञ्चरमा पूर्वनिर्धारित कुपन दरका आधारमा ब्याज प्राप्त हुने भएकाले संस्थागत लगानीकर्तालाई आफ्नो भावी नगद प्रवाह अनुमान गर्न सहज हुन्छ।

यही कारण कमजोर सेयर बजारले डिबेञ्चरको आकर्षण थप बढाएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

असार मसान्तको क्लोजिङले थप्यो कारोबार

असार मसान्त आर्थिक वर्षको अन्तिम समय भएकाले संस्थागत लगानीकर्ताले आफ्नो लगानी पोर्टफोलियो समायोजन गर्ने अवधि पनि हो।

बीमा कम्पनी, म्युचुअल फन्ड, बैंक तथा अन्य संस्थाले वर्षभरिको आम्दानी, जोखिम र प्रतिफलको हिसाब मिलाउँदै लगानी पुनर्संरचना गर्छन्। यो समयमा केही संस्थाले जोखिमयुक्त सम्पत्तिबाट रकम निकालेर स्थिर आम्दानी दिने उपकरणमा सार्छन्।

क्षेत्रीका अनुसार असार मसान्तको क्लोजिङका कारण पनि डिबेञ्चर खरिद बढेको हो।

“संस्थागत लगानीकर्ताका लागि यो समयमा डिबेञ्चरमा लगानी गर्नु उचित देखिएको छ,” उनले भने, “मुद्दतीको ब्याजदरभन्दा डिबेञ्चरको प्रतिफल बढी भएकाले बीमा कम्पनी यसतर्फ आकर्षित भएका छन्।”

एनएमबि क्यापिटलका चिफ बिजनेस अफिसर आशिषराज पाण्डे पनि संस्थागत लगानीकर्ताले वैकल्पिक लगानीका रूपमा डिबेञ्चरलाई हेर्न थालेको बताउँछन्।

“बैंकको मुद्दतीमा पैसा राख्दा करिब २-३ प्रतिशत मात्र प्रतिफल आउने अवस्था छ,” उनले भने, “दोस्रो बजारमा केही डिबेञ्चरको यिल्ड तुलनात्मक रूपमा राम्रो देखिएपछि संस्थागत लगानीकर्ता यसतर्फ आएका हुन्।”

ब्याज प्राप्त गर्ने समयले पनि बढायो अल्पकालीन खरिद

पाण्डेका अनुसार आर्थिक वर्षको अन्त्यसँगै ब्याज प्राप्त हुने मिति नजिकिएका केही डिबेञ्चरमा अल्पकालीन खरिद बढेको हुन सक्छ।

ऋणपत्रको ब्याज भुक्तानीका लागि तोकिएको अभिलेख मितिअघि डिबेञ्चर खरिद गर्ने लगानीकर्ता ब्याज प्राप्त गर्ने सूचीमा पर्न सक्छन्। यसैले ब्याज भुक्तानीको समय नजिकिँदा केही संस्थाले डिबेञ्चर खरिद गर्ने र ब्याज प्राप्त गरेपछि पुनः बिक्री गर्ने रणनीति अपनाउने सम्भावना हुन्छ।

तर लगानीकर्ताले कुपन दर मात्र हेरेर डिबेञ्चर खरिद गर्नु जोखिमपूर्ण हुन सक्छ। दोस्रो बजारमा रु.१ हजार अंकित मूल्यको डिबेञ्चर रु.१ हजार २ सय वा रु.१ हजार ३ सयमा खरिद गर्दा देखिने कुपन दर नै वास्तविक प्रतिफल हुँदैन।

खरिद मूल्य, बाँकी अवधि, प्राप्त हुने ब्याज र परिपक्वतामा फिर्ता हुने साँवालाई समेटेर निकालिने यिल्ड टु म्याच्युरिटी-वाईटीएम नै वास्तविक प्रतिफलको आधार हो।

त्यसैले उच्च कुपन भएको डिबेञ्चर महँगो मूल्यमा किन्दा वास्तविक प्रतिफल मुद्दती निक्षेपसँगको अन्तरभन्दा धेरै कम पनि हुन सक्छ।

कारोबार रकम बढ्यो भन्दै बजारमा नयाँ पैसा आयो भन्न मिल्दैन

डिबेञ्चरको अंकित मूल्य सामान्यतः प्रतिइकाइ रु.१ हजार हुन्छ। संस्थागत लगानीकर्ताले एकैपटक ठूलो संख्यामा इकाइ खरिद–बिक्री गर्दा केही कारोबारबाटै करोडौँ रुपैयाँको कारोबार देखिन्छ।

यही कारण डिबेञ्चरको ठूलो कारोबारले नेप्सेको कुल कारोबार रकम उच्च देखाए पनि त्यसलाई सेयर बजारमा व्यापक नयाँ पैसा प्रवेश गरेको संकेतका रूपमा बुझ्न मिल्दैन।

कहिलेकाहीँ सीमित संस्थाबीच भएको ठूलो ब्लक कारोबारले समग्र बजारको कारोबार रकम अस्वाभाविक रूपमा बढाउन सक्छ। तर त्यसले साधारण सेयरको खरिद माग, लगानीकर्ताको मनोबल वा बजारको वास्तविक तरलता बढेको प्रमाण दिँदैन।

माग र आपूर्तिको दुर्लभ संयोग

अहिले डिबेञ्चर बजारमा तीनवटा अवस्था एकैपटक देखिएका छन्।

अवकाश कोषको पुनर्संरचनाले बिक्री आपूर्ति बढाएको छ। मुद्दती निक्षेपको न्यून ब्याजदरले बीमा कम्पनी र संस्थागत लगानीकर्ताको माग बढाएको छ। सेयर बजारको अनिश्चितता र असार मसान्तको पोर्टफोलियो व्यवस्थापनले कारोबारलाई थप गति दिएको छ।

यसैले डिबेञ्चरको पछिल्लो कारोबार वृद्धि कुनै एउटा कारणको परिणाम मात्र होइन। यो अवकाश कोषको बाध्यात्मक व्यवस्थापन, बीमा कम्पनीको प्रतिफल खोजी, घट्दो निक्षेप ब्याजदर र कमजोर सेयर बजारको संयुक्त परिणाम हो।

यसबाट ऋणपत्र बजार केही चलायमान भएको छ। तर लगानीकर्ताले कुपन दर र बढेको कारोबार देखेर मात्र निर्णय गर्नु हुँदैन। जारीकर्ता संस्थाको वित्तीय अवस्था, ऋणपत्रको बाँकी अवधि, बजार मूल्य, ब्याज भुक्तानी संरचना र वास्तविक वाईटीएम हेरेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.