काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले घाटाबाट बाहिरिएको छ । कम्पनीले आफ्नो आम्दानी बढाउँदै र सञ्चालन खर्च घटाउँदै यस्तो सफलता हासिल गरेको हो ।
कम्पनीले गत आवको चौथो त्रैमाससम्म ८ करोड ५१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ करोड १७ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत ३७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ९० लाख रुपैयाँ कमाएको थियो । यसरी कम्पनीको विद्युत बिक्री आम्दानी ३२४.१६ प्रतिशतले बढेको छ ।
चौथो त्रैसमाससम्म कम्पनीको सञ्चालन खर्च १ करोड ६५ लाखबाट घटेर १ करोड २२ लाखमा सीमित बनेको छ । कम्पनीको कर्मचारी खर्च १ करोड १३ लाख र वित्त खर्च १३ करोड ६४ लाख रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भको आकार १ करोड २९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड १ लाख र कुल चालु दायित्व २२ करोड १६ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)८.८५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९८.६५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९८.९९ रुपैयाँ र तरलता अनुपात ०.४१ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।