Photo: चार वर्षअघि पनि कोइराला पूँजीबजार सुधारका लागि आमरण अनसनमा बसेका थिए ।
काठमाडौं। सेयर बजारका सक्रिय लगानीकर्ता तथा विगतका पूँजीबजार सुधार आन्दोलनका अगुवा तिलक कोइरालाले मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) र स्टक ब्रोकर एसोसिएसनमा ताला लगाउने घोषणा गरेका छन्।
लगातार घटिरहेको सेयर बजार जोगाउन निर्णायक आन्दोलन आवश्यक भएको भन्दै उनले बिहान साढे ९ बजे सेबोन र ब्रोकर एसोसिएसनमा तालाबन्दी गर्ने बताएका हुन्। लगानीकर्तालाई आफूले कारोबार गर्ने ब्रोकर कार्यालयमा दबाबमूलक विरोध गर्नसमेत उनले आह्वान गरेका छन्।
‘सेबोन र ब्रोकर तातेमा मात्रै पूँजीबजार तात्छ,’ कोइरालाले भने, ‘भोलि ब्रोकरहरूले कारोबार नगर्ने निर्णय गर्नुपर्छ। पूँजीबजार जोगाउने प्रभावकारी अभियान अब सुरु गर्नुपर्छ।’
उनले आन्दोलनको नेतृत्व आफूले गर्ने घोषणा गर्दै देश तथा विदेशमा रहेका लगानीकर्तालाई साथ दिन आग्रह गरेका छन्। सेबोनमा हुने प्रदर्शनका क्रममा कुनै अप्रिय अवस्था सिर्जना भए त्यसको राजनीतिक तथा प्रशासनिक जिम्मेवारी अर्थमन्त्री र धितोपत्र बोर्डका अध्यक्षले लिनुपर्ने उनको चेतावनी छ।
कोइरालाले बजारको निरन्तर गिरावटका कारण लगानीकर्तामा गम्भीर निराशा फैलिएको उल्लेख गर्दै मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। लगानीकर्ताबाट चरम निराशा व्यक्त गरिएका सन्देश आइरहेको बताउँदै उनले सुरक्षित रहन, आत्मबल बलियो बनाउन र समस्याको समाधान सामूहिक तथा शान्तिपूर्ण दबाबबाट खोज्नुपर्ने बताए।
उनका अनुसार यो अभियान सरकार ढाल्ने वा कुनै दलविरुद्ध लक्षित नभई सरकार र नियामक निकायलाई पूँजीबजारको समस्या समाधान गर्न खबरदारी गर्ने अभियान हो।
‘पूँजीबजार जोगाउनु भनेको अर्थतन्त्र जोगाउनु हो,’ उनले भने, ‘बजार राम्रो हुँदा लगानीकर्ता मात्रै होइन, सरकार, ब्रोकर, बैंक तथा समग्र अर्थतन्त्रले फाइदा पाउँछ।’
कोइरालाले बजारमा थेग्नै नसकिने बिक्री चाप आएको, कतिपय कम्पनीको सेयर नेटवर्थ तथा १८० दिनको औसत मूल्यभन्दा तल झर्दासमेत खरिदकर्ता नदेखिएको र बजारको विश्वास गम्भीर रूपमा कमजोर भएको दाबी गरे।
उनले अर्थमन्त्री र धितोपत्र बोर्डको नेतृत्वले लगानीकर्ताका माग नसुनेको आरोपसमेत लगाए। नयाँ नेतृत्वबाट पूँजीबजार सुधारमा अपेक्षित तत्परता नदेखिएको उनको भनाइ छ।
‘चुप लागेर बस्दा बजार थप संकटमा पर्छ,’ कोइरालाले भने, ‘अहिले बजार जोगाउन सकियो भने भविष्यमा सबैलाई फाइदा हुन्छ। लगानीकर्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठित हुनुपर्छ।’
उनले विद्यमान लगानीकर्ता संघहरू व्यक्तिगत तथा संस्थागत स्वार्थमा केन्द्रित भएको आरोप लगाउँदै अहिले पूँजीबजारका सबै लगानीकर्तालाई प्रतिनिधित्व गर्ने प्रभावकारी र एकीकृत संस्था नभएको बताए।
कोइरालाले आन्दोलनलाई शान्तिपूर्ण, संयमित र पूँजीबजार सुधारका स्पष्ट मागमा केन्द्रित बनाउनुपर्नेमा समेत जोड दिएका छन्।

