काठमाण्डौ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा दूध उत्पादन तथा बिक्री गर्ने ११ हजार २३२ किसानलाई पाँच करोड ५८ लाख रुपैयाँ प्रोत्साहन रकम वितरण गरेको छ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मापदण्ड पूरा गरेका दुग्ध सहकारी संस्थामार्फत किसानलाई उक्त रकम उपलब्ध गराएको हो।
मन्त्रालयकी वरिष्ठ पशु विकास अधिकृत डा. शोभा शर्माका अनुसार दैनिक कम्तीमा २०० लिटर र वर्षमा कम्तीमा २०० दिन दूध कारोबार गर्ने सहकारी संस्था प्रोत्साहन रकमका लागि योग्य हुन्छन्।
त्यस्तै, आर्थिक वर्षभर कम्तीमा ३० दिन सहकारीमार्फत दूध बिक्री गरेका किसानले प्रोत्साहन रकम पाउने व्यवस्था छ।
प्रदेश सरकारले किसानलाई प्रतिलिटर दूधमा पाँच रुपैयाँसम्म प्रोत्साहन दिने गरेको छ। यद्यपि, सहकारीबाट माग धेरै आएमा उपलब्ध बजेटका आधारमा प्रतिलिटर रकम केही कम हुन सक्ने मन्त्रालयले जनाएको छ।
एउटा दुग्ध सहकारी संस्थाले अधिकतम १७ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन रकम प्राप्त गर्न सक्ने व्यवस्था छ।
सहकारीले प्राप्त गर्ने कुल रकममध्ये चार प्रतिशत कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्न पाउनेछ। बाँकी ९६ प्रतिशत रकम सम्बन्धित किसानलाई वितरण गर्नुपर्ने प्रावधान छ।
प्रदेश सरकारले दूध उत्पादनमा किसानको आकर्षण बढाउने, उत्पादन लागतको भार कम गर्ने र दुग्ध व्यवसायलाई व्यावसायिक बनाउने उद्देश्यले प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

