सोमबार, श्रावण ११,२०८३ 05:56:12
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 05:56:12
Bizshala
Global IME Bank Limited

सुनसरीमा सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल

देवानगञ्ज घटनाको अनुगमन सुरु, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई निर्देशन

सुनसरीमा सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल
New Office

 

 

 काठमाण्डौ ।  सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनामाथि राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन तथा अनुसन्धान सुरु गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिअनुसार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको छ। टोलीले सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयवासीसँग घटनाबारे जानकारी लिइरहेको आयोगले जनाएको छ।

आयोगको प्रारम्भिक अनुगमनमा बिजुलीको पोलमा झन्डा राख्ने विषयबाट दुई समुदायबीच विवाद सुरु भएको पाइएको छ। डिजे बजाउने क्रममा विवाद थप चर्किएपछि दुवै पक्षबीच तोडफोड र झडप भएको तथा स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको आयोगले जनाएको छ।

प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको आयोगको प्रारम्भिक विवरणमा उल्लेख छ।

घाइतेमध्ये चार जनाको विराटनगरस्थित न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको आयोगले जनाएको छ।

घटनापछि विभिन्न स्थानमा टायर बाल्ने तथा लाठी र रड बोकेर प्रदर्शन गर्ने गतिविधि देखिएको आयोगले उल्लेख गरेको छ। कप्तानगञ्जलगायतका क्षेत्रमा स्थिति तनावपूर्ण बनेपछि सुरक्षा नियन्त्रणका लागि नेपाली सेना परिचालन गरिएको जानकारीसमेत आयोगले प्राप्त गरेको जनाएको छ।

आयोगले जिल्लाको कमजोर बनेको शान्ति–सुरक्षा अवस्था तत्काल मजबुत बनाउन, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

त्यस्तै, घाइतेहरूको निःशुल्क, सहज र प्रभावकारी उपचार सुनिश्चित गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै वार्ता र संवादमार्फत विवाद समाधान गर्नुपर्नेमा जोड दिएको छ। सामाजिक सद्भाव कायम राख्ने वातावरण निर्माणमा सहयोग गर्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, धार्मिक अगुवा तथा सर्वसाधारणलाई समेत आयोगले अपिल गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.