मंगलवार, श्रावण १२,२०८३ 05:24:59
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 05:24:59
Bizshala
Global IME Bank Limited

९२ वर्षको उमेरमा पनि सर्जरी गर्छिन् यी डाक्टर

९२ वर्षको उमेरमा पनि सर्जरी गर्छिन् यी डाक्टर
New Office

काठमाण्डौ । चिकित्सा क्षेत्रमा सामान्यतया ३०, ४० वा ५० वर्षको अनुभव भएका चिकित्सकहरूबारे धेरै चर्चा हुन्छ। तर भारतको हैदराबादकी एक चिकित्सकले भने करिब सात दशकभन्दा लामो समयदेखि स्वास्थ्य सेवामा सक्रिय रहेर असाधारण उदाहरण प्रस्तुत गरेकी छन्।

उनी हुन् ९२ वर्षीया डा. सूरी श्रीमाथी। सन् १९५८ मा एमबीबीएस पूरा गरेपछि चिकित्सा क्षेत्रमा प्रवेश गरेकी डा. श्रीमाथीले ६८ वर्षभन्दा बढी समयदेखि बिरामीको उपचार गर्दै आएकी छन्। उमेरले ९० वर्ष पार गरिसक्दा पनि उनी अझै नियमित रूपमा बिरामी हेर्छिन् र आवश्यक परे शल्यक्रियासमेत गर्छिन्।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीमाथी आज पनि हैदराबादमा चिकित्सा सेवा दिइरहेकी छन्। उनी सिजेरियन प्रसूति (सी–सेक्सन) लगायतका शल्यक्रियामा सक्रिय छन्। धेरै मानिसलाई वृद्धावस्थामा सामान्य दैनिक काम गर्न पनि कठिन हुने भए पनि डा. श्रीमाथी भने स्टेथोस्कोप र शल्यक्रियाका उपकरणसँगै आफ्नो पेशाप्रति समर्पित देखिन्छिन्।

उनले आफू अझै पनि आत्मविश्वासका साथ काम गर्न सक्ने बताउँदै शल्यक्रिया गर्दा हात कहिल्यै नकाम्ने बताएकी छन्। ‘मेरो हात अझै स्थिर छन्,’ भन्दै उनले आफ्ना हात देखाउँदै आफ्नो आत्मविश्वास व्यक्त गरेकी थिइन्।

डा. श्रीमाथीको विशेष पहिचान भनेको उनले एउटै परिवारका तीन पुस्तासम्मको प्रसूति गराएकी छन्। धेरै बिरामीहरू आफ्ना बाल्यकालका तस्बिर देखाउँदै ‘मेरो जन्म तपाईंले नै गराउनुभएको हो’ भनेर उनलाई सम्झाउने गर्छन्।

उनकी सहकर्मी स्त्री रोग विशेषज्ञ डा. रजनी कुमारीका अनुसार डा. श्रीमाथीको हात अझै पनि पूर्ण रूपमा स्थिर छ। ‘कहिलेकाहीँ हाम्रो हात काँप्न सक्छ, तर उहाँको हात कहिल्यै काँप्दैन,’ उनले भनेकी छन्।

डा. रजनीका अनुसार योग, ध्यान, सन्तुलित खानपान, अनुशासित जीवनशैली र आफ्नो पेशाप्रतिको गहिरो समर्पण नै डा। श्रीमाथीको सक्रियताको मुख्य कारण हुन्।

चिकित्सा क्षेत्रमा हरेक दिन नयाँ औषधि, प्रविधि र अनुसन्धान आइरहेका छन्। यस्तो अवस्थामा पनि डा. श्रीमाथी आफूलाई निरन्तर अपडेट राख्छिन्। उनी मेडिकल सम्मेलनमा सहभागी हुने, अनुसन्धानमूलक लेख तथा जर्नल पढ्ने र नयाँ औषधिबारे जानकारी लिने गर्छिन्। डा। रजनी कुमारीका अनुसार नयाँ प्रविधि आएपछि डा. श्रीमाथी त्यसलाई बुझेर आफ्नो अभ्यासमा समावेश गर्ने प्रयास गर्छिन्।

डा. श्रीमाथीले हैदराबादस्थित उस्मानिया विश्वविद्यालयबाट सन् १९५८ मा एमबीबीएस गरेकी थिइन्। त्यसपछि केही समय सरकारी चिकित्सकका रूपमा काम गरेपछि उनले स्त्री तथा प्रसूति रोग विशेषज्ञतामा एमडी गरिन्।

उनको करियरको सुरुवाती दिनको एउटा घटना अझै सम्झनलायक छ। पहिलो मेडिकल केसका रूपमा उनले १३–१४ वर्षकी गर्भवती किशोरीको उपचार गरेकी थिइन्। अस्पतालमा अन्य विशेषज्ञ चिकित्सक उपलब्ध नभएकाले उनले सर्जन, एनेस्थेसिया विशेषज्ञ र बाल रोग विशेषज्ञको जिम्मेवारीसमेत सम्हाल्नुपरेको बताएकी छन्।

हाल डा. श्रीमाथी हैदराबादस्थित आफ्नै घरबाट निजी चिकित्सा सेवा दिइरहेकी छन्। उनले बिरामी हेरेबापत सामान्य शुल्क लिने गरे पनि आर्थिक अवस्था कमजोर भएका बिरामीबाट शुल्क नलिने बताएकी छन्।

‘मेरो लागि चिकित्सा केवल कमाइको माध्यम होइन। इमानदारीपूर्वक सेवा गर्नु नै ठूलो सन्तुष्टि हो,’ उनले भनेकी छन्।

उमेर बढेसँगै उनले सिजेरियन शल्यक्रियाको संख्या घटाएकी छन्। तर अझै पनि आवश्यक अवस्थामा सहायक चिकित्सकहरूको सहयोगमा मुख्य भूमिका आफैं निभाउने गर्छिन्।

डा. श्रीमाथीकी बिरामी तुलसीले उनको व्यवहार र समर्पणको प्रशंसा गर्दै भनिन्, ‘उहाँ बिरामीको कुरा धैर्यपूर्वक सुन्नुहुन्छ। जुनसुकै बेला फोन गर्दा पनि शान्त भएर जवाफ दिनुहुन्छ।’

उनले सुरुमा उमेरका कारण डा. श्रीमाथीप्रति केही डर लागेको भए पनि पछि उनको दक्षता र हेरचाह देखेर विश्वास बढेको बताइन्। डा. रजनी कुमारीले सन् १९८६ देखि डा. श्रीमाथीसँग काम गर्दै आएको बताउँदै उनलाई आफ्नो गुरुको रूपमा सम्मान गर्छिन्। ‘सर्जरी मैले उहाँबाट सिकेकी हुँ,’ उनले भनिन्।

चिकित्सा क्षेत्रमा आउन चाहने युवालाई डा. श्रीमाथीले ज्ञान र सेवामा ध्यान दिन सुझाव दिएकी छन्। ‘फीस र कमाइको पछाडि मात्र नलाग्नुहोस्। इमानदारीपूर्वक सेवा गरिरहनुभयो भने सफलता र समृद्धि आफैं आउँछ,’ उनले भनेकी छन्।

आफ्नो लामो चिकित्सा यात्रालाई एक शब्दमा वर्णन गर्नुपर्दा उनले खुशी र आत्मसन्तुष्टि भनेकी छन्। ९२ वर्षको उमेरमा पनि काम जारी राख्नुको कारणबारे सोध्दा डा। श्रीमाथीले भनिन्, ‘जब भगवानले शक्ति दिनुहुन्छ, म काम गरिरहन्छु।’

उनको भनाइ छ, ‘जब हामी खाना खान र आराम गर्न छोड्दैनौं भने काम मात्र किन छोड्ने ?’ स्वस्थ जीवनको रहस्यबारे उनले नियमित योग, प्राणायाम, समयमै खाना खाने र समयमै सुत्ने बानीलाई महत्वपूर्ण बताएकी छन्। सजिलै पच्ने खाना खानुपर्ने, अत्यधिक तारेको खाना कम गर्नुपर्ने र हिँडडुल तथा शारीरिक गतिविधिमा ध्यान दिनुपर्ने उनको सुझाव छ।

९२ वर्षको उमेरमा पनि बिरामीको सेवामा समर्पित डा। सूरी श्रीमाथी चिकित्सा क्षेत्रमा अनुभव, अनुशासन र सेवाभावको प्रेरणादायी उदाहरण बनेकी छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.