काठमाण्डौ । नेपाल चिकित्सक संघको आह्वानमा आज पनि देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीमाथि सरकारले प्रभावकारी कारबाही नगरेको भन्दै सङ्घले आन्दोलनलाई निरन्तरता दिएको हो।
संघले घटनाको चार दिन बितिसक्दासमेत दोषीहरू पक्राउ गरी कानूनी कारबाही नगरिएको आरोप लगाएको छ। न्यायको माग गर्दै पुगेका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको दाबी गर्दै संघले उक्त घटनालाई गम्भीर र निन्दनीय भएको जनाएको छ।
मंगलबार बसेको संघको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले बुधबार देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो। यस आन्दोलनका कारण नियमित ओपीडी, योजना अनुसार गरिने शल्यक्रिया तथा अन्य गैरआकस्मिक स्वास्थ्य सेवा प्रभावित भएका छन् भने आकस्मिक सेवा भने यथावत सञ्चालनमा रहने जनाइएको छ।
आन्दोलनअन्तर्गत आज बिहान १० बजे काठमाण्डौ उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गर्ने कार्यक्रम छ।
यस्तै, उपत्यका बाहिरका चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, साथै आफू कार्यरत स्वास्थ्य संस्थामै धर्ना दिएर विरोध जनाउने कार्यक्रम तय गरिएको संघले जनाएको छ।
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा शून्य सहनशीलताको नीति अपनाउन, दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन तथा स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

