काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न तथा सम्बोधनका लागि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ।
पार्टीको मिति २०८३ साउन १३ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार आगामी साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट अभियान सञ्चालन हुने रास्वपाले जनाएको छ।
अभियानअन्तर्गत नागरिकसँग प्रत्यक्ष संवाद गर्न प्रत्येक दिन पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यमध्येबाट दुई जनाको नियमित उपस्थिति रहने व्यवस्था गरिएको छ। रास्वपाका अनुसार हरेक दिन कम्तीमा एक जना प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।
पार्टीका सह–महामन्त्री हरि ढकालले नागरिकका समस्या, गुनासा र सुझावलाई प्रत्यक्ष रूपमा सुन्न तथा आवश्यक सहजीकरण गर्न अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।
रास्वपाले यस अभियानमार्फत नागरिकसँगको सम्बन्ध थप सुदृढ गर्ने, जनताका वास्तविक समस्या पहिचान गर्ने र प्राप्त सुझावलाई पार्टीको नीति तथा कार्यदिशामा समेट्ने उद्देश्य राखेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।