काठमाण्डौ । बीमा कम्पनीहरुले बीमितबाट परेको दाबी समयमै भुक्तानी गर्न नसक्दा दाबी बक्यौता रकम बढ्दै गएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुबाट ५२ अर्ब ८ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी हुन बाँकी छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५९.९१ प्रतिशत बढी हो । अघिल्लो आवमा भने यस्तो रकम ३२ खर्ब ५६ करोड ८२ लाख रुपैयाँ थियो ।
गत आवमा जीवन बीमा कम्पनीहरुबाट ११ अर्ब ८ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुबाट ४१ अर्ब ३ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ । अघिल्लो आवको तुलनामा जीवन बीमा क्षेत्रको भुक्तानी गर्न बाँकी रकम ४७.५२ प्रतिशत र निर्जीवन बीमा क्षेत्रको भुक्तानी गर्न बाँकी रकम ६३.९१ प्रतिशतले वृद्धि भएको छ ।
तुलनात्मक रुपमा हेर्दा जीवन भन्दा निर्जीवन बीमा कम्पनीहरुको भुक्तानी गर्न बाँकी रकम थुप्रिदै गएको छ । विशेषगरी निर्जीवन बीमा क्षेत्रमा बाढी–पहिरो, प्राकृतिक विपत्ति, आगलागी तथा अन्य ठूला क्षतिको कारण उच्च रकमको दाबी परेका छन् । यस्ता दाबीको मूल्यांकन, कागजात परीक्षण र प्रक्रिया पूरा गर्न समय लाग्दा भुक्तानी ढिला भएको देखिन्छ ।
बीमा क्षेत्रका जानकारहरूले दाबी फछ्र्योटमा ढिलाइ हुँदा बीमितको विश्वासमा असर पर्न सक्ने भन्दै कम्पनीहरूले मूल्यांकन प्रक्रिया छिटो, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
विशेषगरी गत आर्थिक वर्षमा बाढी पहिरोको प्रकोपसँगै जेनजी आन्दोलनको वितण्डा वा हुलदंगाले गर्दा ठूलो क्षति पुर्याएको थियो । यसले निर्जीवन बीमा कम्पनीहरुको भुक्तानी दायित्व बढेको हो ।
यसका साथै ठूलो रकमको दाबीमा बीमा कम्पनीले पुनर्बीमा कम्पनीबाट रकम प्राप्त गरेपछि बीमितलाई भुक्तानी गर्ने हुँदा पुनर्बीमाबाटै रकम आउन ढिलाई भएका कारण पनि यस्तो रकम बढेको देखिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।