आईतवार, श्रावण २४,२०८३ 04:23:28
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 04:23:29
Bizshala
Global IME Bank Limited

‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न ढकालको प्रस्ताव

‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न ढकालको प्रस्ताव
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको नामसँगै त्यहाँबाट सञ्चालन हुने शासन प्रणाली र कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन्।

ललितपुरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि मुलुकका विभिन्न स्थान र विमानस्थलका नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम र त्यससँग जोडिएको प्रशासनिक संस्कारमा अपेक्षित परिवर्तन आउन नसकेको टिप्पणी गरे।

नेपालमा सिंह नै नपाइने अवस्थामा ‘सिंहदरबार’ नामको निरन्तरतामाथि प्रश्न उठाउँदै उनले आवश्यक परे यसको नाम परिवर्तन गर्न सकिने धारणा राखे। उनले ‘अनामनगर दरबार’ नाम प्रस्ताव गर्दै नाम परिवर्तनलाई राजनीतिक परिवर्तनसँग जोडेर हेर्नुपर्ने बताए।

तर ढकालको जोड केवल नाम परिवर्तनमा भने थिएन। उनले सिंहदरबारको ‘हाउभाउ, भावभङ्गी र भाषा’मै पुरानो प्रशासनिक मानसिकता झल्किने भन्दै त्यसलाई बदल्नुपर्ने बताए।

‘हामीसँग सिंह छैन, त्यसको नाम सिंहदरबार नै छ। त्यसको केही हाउभाउ, भावभङ्गी र भाषा जस्तै छ, त्यो चिर्नुपर्नेछ,’ उनले भने।

ढकालले प्रशासनिक सुधारको बहसलाई सिंहदरबारको नाम परिवर्तनभन्दा व्यापक विषयका रूपमा प्रस्तुत गरे। उनका अनुसार मुलुकको शासन सञ्चालन हुने प्रमुख केन्द्रमै पुरानो सोच, व्यवहार र कार्यशैली कायम रहेसम्म परिवर्तनको वास्तविक अनुभूति नागरिकसम्म पुग्न कठिन हुन्छ।

उनले प्रशासनिक संरचनामा देखिने परम्परागत भाषाशैली, व्यवहार र निर्णय प्रक्रियालाई समयअनुकूल बनाउनुपर्नेमा जोड दिए। सरकारको कार्यशैलीमा परिवर्तन ल्याउन प्रशासनको ‘मुहान’ अर्थात् सिंहदरबारबाटै सुधारको सुरुवात हुनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.