सोमबार, श्रावण २५,२०८३ 03:27:35
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 03:27:35
Bizshala
Global IME Bank Limited

निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रह– ‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्’

निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रह– ‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्’
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीको वातावरण निर्माण गर्दै निजी क्षेत्रलाई थप लगानी, उद्योग विस्तार र नयाँ रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्।

२० ठूला करदाता तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई आर्थिक विकासको साझेदारका रूपमा हेर्ने बताएका हुन्।

उनले नेपालको आर्थिक रूपान्तरण सरकार वा कुनै एक मन्त्रालयको प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकार र निजी क्षेत्रले संयुक्त रूपमा यसको नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरे।

‘निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो,’ अर्थमन्त्री वाग्लेले भने। उनका अनुसार सरकारको प्राथमिकता अब केवल कर संकलन बढाउनेमा सीमित नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनेतर्फ केन्द्रित हुनुपर्छ।

उनले उद्योगले कमाएको नाफा पुनःलगानी हुँदा उत्पादन विस्तार, रोजगारी सिर्जना, आम्दानी वृद्धि र बजार विस्तार हुँदै अन्ततः राज्यको राजस्वसमेत बढ्ने बताए। सरकार र निजी क्षेत्रको सम्बन्ध एकअर्काको सफलतासँग जोडिएको भन्दै उनले निजी क्षेत्रको विस्तारलाई नै समग्र अर्थतन्त्रको विस्तारका रूपमा लिनुपर्ने उल्लेख गरे।

अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए। लगानीकर्ताले सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको र कर प्रणाली पूर्वानुमेय रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्। भएका उद्योग विस्तार गर्नुहोस्। नयाँ उत्पादनमा प्रवेश गर्नुहोस्। नयाँ प्रविधि भित्र्याउनुहोस् र नयाँ रोजगारी सिर्जना गर्नुहोस्,’ उनले निजी क्षेत्रलाई आग्रह गरे।

छलफलका क्रममा अर्थमन्त्रीले सरकारले सुरु गरेका सुधारहरू व्यवहारमा कत्तिको प्रभावकारी देखिएका छन् भन्नेबारे निजी क्षेत्रबाट प्रत्यक्ष सुझाव मागेका थिए। उनले व्यवसाय विस्तारका क्रममा देखिएका प्रमुख अवरोध पहिचान गरी तत्काल समाधानका लागि सरकारलाई सुझाव दिन आग्रह गरे।

कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात तथा कानुनी र सरकारी प्रक्रियालगायतका क्षेत्रमा रहेका समस्याबारे निजी क्षेत्रको स्पष्ट धारणा आवश्यक रहेको उनले बताए। साथै, आगामी छ महिनाभित्र सरकारले गर्नुपर्ने महत्वपूर्ण पाँच निर्णय पहिचान गर्नसमेत उनले व्यवसायीलाई आग्रह गरे।

‘आजको बैठकमा म केवल सुझाव संकलन गर्न चाहन्नँ। म समाधानको कार्यसूची बनाउन चाहन्छु, अर्थमन्त्री वाग्लेले भने।

छलफलबाट उठेका विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने उनले बताए। अर्थ मन्त्रालयले निरन्तर अनुगमन गर्ने र समस्या समाधान नभएसम्म निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने उनको प्रतिबद्धता थियो।

अर्थमन्त्री वाग्लेले करदातालाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणका साझेदारका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए। नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउन सरकारले काम गरिरहेको उनले बताए।

सरकारले उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवालाई उद्यम गर्न प्रेरणा मिल्ने वातावरण निर्माण गर्न चाहेको उनको भनाइ थियो।

नेपाललाई लगानीमैत्री, व्यवसायमैत्री र उत्पादनमुखी अर्थतन्त्रका रूपमा विकास गर्ने लक्ष्यसहित सरकार अघि बढेको भन्दै अर्थमन्त्री वाग्लेले आगामी दशकलाई ठूलो लगानी, उत्पादन, रोजगारी र आर्थिक आत्मविश्वासको दशक बनाउन निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.