काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको आवश्यकता नरहेको भन्दै एमाले अब ‘पुनर्जागरण’को चरणमा प्रवेश गरेको बताएका छन्। पार्टी नेतृत्व परिवर्तनको माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाउने र हस्ताक्षर संकलन गर्ने गतिविधिलाई उनले अराजकताको संज्ञा दिएका छन्।
झापा एमालेले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन गर्दै ओलीले पार्टी अध्यक्ष हटाउने विषय सामाजिक सञ्जालको स्टाटस वा हस्ताक्षर अभियानबाट तय नहुने बताए।
उनले भने, ‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन।’
ओलीले एमाले अहिले पुनर्गठनको अवस्थामा नरहेको स्पष्ट पार्दै भने, ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौं।’ उनका अनुसार नेतृत्व परिवर्तन हुनु मात्रै पुनर्गठन होइन। पार्टीको नीति, गन्तव्य र कार्यक्रममै परिवर्तन आउनुलाई मात्रै वास्तविक पुनर्गठन भन्न मिल्ने उनको तर्क छ।
उनले कुनै जनसंगठन वा कमिटीको संरचना फेरबदललाई सिंगो पार्टीको पुनर्गठन भन्न नमिल्ने बताए। नियमित अधिवेशन, कमिटी परिवर्तन र संगठनात्मक हेरफेर पार्टी जीवनको सामान्य प्रक्रिया भएको उनको भनाइ थियो।
सम्बोधनका क्रममा ओलीले विगतमा आफूविरुद्ध पार्टीभित्र भएका घटनाक्रमसमेत स्मरण गरे। उनले २०२९ देखि २०३२ सालसम्म सीपी मैनाली समूहले आफूलाई सदस्यविहीन बनाएको तथा २०७७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले पार्टीबाट निष्कासन गरेको प्रसंग उल्लेख गर्दै आफूले पटक–पटक पार्टी जोगाएको दाबी गरे।
ओलीले पार्टी सदस्यको संख्या र निर्वाचनमा प्राप्त मतबीच देखिएको अन्तरप्रति पनि असन्तुष्टि जनाए। ‘हाम्रो पार्टीमा सदस्यभन्दा कम भोट आयो, सुन्दा लाज हुन्छ,’ उनले भने।
उनले पार्टीलाई मत नदिने व्यक्तिको सदस्यता नवीकरण नगर्न निर्देशनसमेत दिए। ‘सदस्यको नवीकरण गर्नुस्, गैरसदस्यको होइन। नयाँ सदस्य थप्नुस्,’ ओलीले भने।
पार्टीबाट लाभ लिने तर संकटका बेला साथ नदिने प्रवृत्तिप्रति पनि ओली कडा रूपमा प्रस्तुत भए। उनले अवसर पाएकाहरू नै बढी गुनासो गर्ने गरेको आरोप लगाउँदै पार्टीबाट फाइदा लिँदै आलोचना गर्ने प्रवृत्तिलाई ‘किर्ना’सँग तुलना गरे।
ओलीले एमालेभित्र आन्तरिक लोकतन्त्र जीवित रहेको दाबी गर्दै कसैलाई दबाब वा हप्कीबाट नियन्त्रण गर्ने संस्कार आफूले नअपनाएको बताए।
उनले भने, ‘कसैलाई हप्काउन पाइँदैन। कोही मालिक र कोही दास छैन।’
ओलीको सम्बोधनले एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला वर्तमान नेतृत्व तत्काल परिवर्तन नहुने र पार्टीलाई संगठनात्मक पुनर्जागरणको दिशामा लैजाने उनको स्पष्ट संकेत दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।