काठमाण्डौ । जापानको तटरक्षक बलले चीनको अनुसन्धान जहाज ‘डोङ फाङ होङ–२’ ओकिनावा प्रिफेक्चरनजिकै जापानको विशेष आर्थिक क्षेत्रमा समुद्री अनुसन्धानसम्बन्धी गतिविधि गरिरहेको अवस्थामा फेला पारेको जनाएको छ।
जापान कोस्ट गार्डका अनुसार उक्त जहाजले समुद्रमा तारजस्तो देखिने वस्तु झारेर गतिविधि गरिरहेको थियो। त्यसपछि जापानी गस्ती जहाजले रेडियोमार्फत अनुसन्धान गतिविधि तत्काल रोक्न निर्देशन दिएको थियो।
द जापान टाइम्सका अनुसार डोङ फाङ होङ–२ आइतबार दिउँसो करिब १ः५५ बजे कुमे टापुभन्दा १०६ किलोमिटर पश्चिमतर्फ देखिएको थियो। घटनाबारे नाहामा मुख्यालय रहेको जापान कोस्ट गार्डको ११औँ क्षेत्रीय मुख्यालयले जानकारी दिएको हो।
जापानी तटरक्षक बलले चिनियाँ जहाजलाई जापानको अनुमति बिना समुद्री अनुसन्धान गर्न नपाइने जानकारी गराएको थियो। तर, तटरक्षक बलका अनुसार सोमबार बिहानसम्म पनि डोङ फाङ होङ–२ ले सो क्षेत्रमा त्यस्तै गतिविधि जारी राखेको थियो।
यसैबीच, जापानको विशेष आर्थिक क्षेत्रअन्तर्गत कुबा टापुनजिकै अर्को चिनियाँ अनुसन्धान जहाज ‘सियाङ याङ होङ–२१’ पनि फेला परेको जापानी अधिकारीहरूले बताएका छन्। उक्त जहाज शनिबार साँझ करिब ४ः५० बजे गतिविधि गरिरहेको अवस्थामा देखिएको थियो। सोही दिन राति करिब १०ः१५ बजे जहाज उक्त क्षेत्रबाट बाहिरिएको तटरक्षक बलले जनाएको छ।
जापान र चीनबीच पूर्वी चीन सागर क्षेत्रमा समुद्री गतिविधि तथा विशेष आर्थिक क्षेत्रसम्बन्धी विषयमा लामो समयदेखि संवेदनशीलता रहँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।