काठमाण्डौ । यस वर्ष देशभर धान रोपाइँ लगभग अन्तिम चरणमा पुगेको छ। कृषि विभागको पछिल्लो तथ्यांकअनुसार धानखेती हुने कुल क्षेत्रफलमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
विभागका अनुसार हालसम्म देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। गत वर्ष यही अवधिमा ९६.०८ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष करिब २ प्रतिशत बिन्दुले सुधार देखिएको हो।
प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि देखिएको छ। सुदूरपश्चिममा धानखेती हुने १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमै रोपाइँ सम्पन्न भई शतप्रतिशत रोपाइँ पूरा भएको छ।
कर्णाली प्रदेशमा ९८.५० प्रतिशत र मधेश प्रदेशमा ९८.१० प्रतिशत रोपाइँ सकिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशमा ९७.८७ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, कोशीमा ९७ प्रतिशत र गण्डकी प्रदेशमा ९६.६८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।
यस वर्ष मधेश प्रदेशमा धान रोपाइँको अवस्थामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यही अवधिमा मधेशमा ८६.३५ प्रतिशत मात्रै रोपाइँ भएको थियो। यसपटक भने रोपाइँको दर बढेर ९८.१० प्रतिशत पुगेको छ।
समग्रमा यस वर्ष समयमै मनसुन सक्रिय हुनु, वर्षाको अवस्था अनुकूल रहनु तथा कृषि गतिविधिमा देखिएको सक्रियताका कारण धान रोपाइँको क्षेत्रफल र प्रतिशत दुवै बढेको विभागको तथ्यांकले देखाएको छ।
धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले रोपाइँको उच्च दरले आगामी उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यद्यपि अन्तिम उत्पादन भने मनसुनको निरन्तरता, मलको उपलब्धता, रोग–कीराको अवस्था र कटानीसम्मको मौसममा निर्भर रहनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।