आईतवार, भाद्र ७,२०८३ 01:47:47
Bizshala
  • आईतवार, भाद्र ७,२०८३ 01:47:47
Bizshala
Global IME Bank Limited

१५ करोड लगानीको ‘एन्टी स्नेक भेनम’ उद्योग संकटमा, मेसिन ल्याउन नसक्दा उत्पादन ठप्प

१५ करोड लगानीको ‘एन्टी स्नेक भेनम’ उद्योग संकटमा, मेसिन ल्याउन नसक्दा उत्पादन ठप्प
New Office

 

काठमाण्डौ ।  नेपालमै सर्पदंशको औषधि ‘एन्टी स्नेक भेनम’ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित स्थापना गरिएको उद्योग आवश्यक वित्तीय स्रोत र सरकारी सहजीकरणको अभावमा संकटमा परेको छ।

सुनसरीको वराहक्षेत्रमा स्थापना गरिएको एन्टी–स्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालिले भौतिक पूर्वाधार निर्माणमा मात्रै हालसम्म करिब १५ करोड रुपैयाँ खर्च गरिसकेको छ। तर, उत्पादनका लागि आवश्यक मुख्य मेसिनरी उपकरण खरिद गर्न नसक्दा उद्योग सञ्चालनमा आउन सकेको छैन।

उद्योगका अध्यक्ष तथा सर्प अनुसन्धानकर्ता लक्ष्मीप्रसाद फुयाँलका अनुसार थप करिब २० करोड रुपैयाँ कर्जा उपलब्ध भए नेपालमै पर्याप्त मात्रामा एन्टी स्नेक भेनम उत्पादन गर्न सकिने अवस्था छ।

उनले करिब ३५ करोड रुपैयाँ लागत अनुमानसहित उद्योग स्थापना अघि बढाइएको बताए।

भवन तयार, सर्प र घोडा पनि छन्, मेसिन छैन

उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माण भइसकेको छ। औषधि उत्पादन प्रक्रियामा आवश्यक पर्ने सर्प र घोडासमेत उद्योगमा राखिएका छन्।

फुयाँलका अनुसार हाल उद्योगमा कोब्रा, करेत र भाइपर प्रजातिका १३८ वटा सर्प तथा ४ वटा घोडा छन्। आवश्यक प्राविधिक ज्ञान र जनशक्ति भए पनि मुख्य उपकरण आयात गर्न नसक्दा उत्पादन सुरु हुन नसकेको उनको भनाइ छ।

‘भवन बनिसक्यो, सर्प र घोडा पनि पालिसकेका छौँ, प्राविधिक ज्ञान पनि छ,’ फुयाँल भन्छन्, ‘तर मेसिन ल्याउन नसक्दा उत्पादन सुरु गर्न सकिएको छैन।’

उनका अनुसार सरकारले परियोजनामा आधारित कर्जा उपलब्ध गराउने नीति बनाए पनि व्यवहारमा उद्योगले त्यस्तो सुविधा पाउन सकेको छैन।

Bizshala
CG Motors

स्वास्थ्य मन्त्रालयले ६० प्रतिशत उत्पादन किन्ने समझदारी

फुयाँलका अनुसार स्वास्थ्य मन्त्रालयले उद्योगबाट उत्पादन हुने एन्टी स्नेक भेनममध्ये ६० प्रतिशत खरिद गर्ने समझदारीसमेत गरिसकेको छ।

उद्योग विभागले पनि आवश्यक सिफारिस गरिसकेको भए पनि बैंक, अर्थ मन्त्रालय र सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय हुन नसक्दा कर्जा प्रक्रिया अघि बढ्न नसकेको उनको गुनासो छ।

उनले थप २० करोड रुपैयाँ ऋण उपलब्ध भए नेपालमा आवश्यक पर्ने अधिकांश एन्टी स्नेक भेनम स्वदेशमै उत्पादन गर्न सकिने दाबी गरे।

वार्षिक माग ५ लाख भायलसम्म, आयात ६० हजार मात्रै

नेपालमा वार्षिक कति एन्टी स्नेक भेनम आवश्यक पर्छ भन्ने आधिकारिक यकिन तथ्यांक छैन। तर, यस क्षेत्रमा काम गर्ने विज्ञहरूले वार्षिक माग करिब ५ लाख भायलसम्म हुन सक्ने अनुमान गरेका छन्।

फुयाँलका अनुसार सरकारले अहिले वार्षिक करिब ६० हजार भायल मात्रै आयात गर्ने गरेको छ।

मागको तुलनामा आयात निकै कम हुँदा विशेषगरी गर्मी र वर्षायाममा विभिन्न अस्पताल तथा सर्पदंश उपचार केन्द्रमा औषधि अभाव हुने गरेको छ।

हालै वीरगन्जको एउटा उपचार केन्द्रले एन्टी स्नेक भेनम मौज्दात नभएको भन्दै सर्पदंशका बिरामीको उपचार गर्न नसकिने सूचना जारी गरेको घटना समेत सार्वजनिक भएको थियो।

यस्तै सूचना सार्वजनिक भएपछि विराटनगरको कोशी अस्पतालमा पनि एन्टी स्नेक भेनम उपलब्ध छ कि छैन भनेर सोधपुछ र माग बढेको थियो।

एउटा उद्योगका लागि कानुनी आधार बनाउनै लाग्यो १२ वर्ष

नेपालमै एन्टी स्नेक भेनम उत्पादन गर्ने योजना फुयाँलले २०७१ सालतिर अघि सारेका थिए। तर, त्यसबेला सर्प पालेर औषधि उत्पादन गर्ने स्पष्ट कानुनी व्यवस्था थिएन।

उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा सर्प पालनसम्बन्धी व्यवस्था नहुँदा कानुन संशोधनकै लागि लामो समय कुर्नुपरेको थियो।

२०७३ सालमा ऐन संशोधन भयो, २०७६ सालमा नियमावली आयो र २०८१ सालमा मात्रै आवश्यक कार्यविधि बनेको उनले बताए।

‘एउटा उद्योग सञ्चालन गर्न आवश्यक कानुनी जग तयार हुनै १२ वर्ष लाग्यो,’ फुयाँलको गुनासो छ।

तराईमा सर्पदंशको जोखिम उच्च

नेपालका तराई तथा भित्री मधेशका जिल्लामा सर्पदंश ठूलो जनस्वास्थ्य समस्याका रूपमा रहँदै आएको छ।

विशेषगरी वर्षायाममा सर्पदंशका घटना बढ्ने गर्छन्। समयमै अस्पताल पुग्न नसक्नु, अस्पतालमा औषधि अभाव हुनु तथा उपचार केन्द्र टाढा हुनुका कारण बिरामीले ज्यान गुमाउने अवस्था आउने गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिवेदनहरूमा वार्षिक सरकारी अभिलेखमा दर्ज हुने मृत्यु संख्या केही दर्जनदेखि सय आसपास देखिए पनि विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानले वास्तविक संख्या निकै बढी हुन सक्ने औँल्याएका छन्।

सन् २०२२ मा प्रकाशित एक अध्ययनले नेपालमा सर्पदंशका कारण वार्षिक मृत्यु संख्या हजारौँमा हुन सक्ने अनुमान गरेको थियो। विभिन्न अध्ययनहरूले नेपालमा हरेक वर्ष करिब २० हजारदेखि ४० हजार मानिस सर्पदंशको जोखिममा पर्ने देखाएका छन्।

‘ऋण देऊ, उत्पादन हामी गर्छौँ’

फुयाँलले सरकारसँग अनुदान नभई परियोजनामा आधारित कर्जा र काम गर्ने वातावरण मात्रै मागेको बताएका छन्।

उद्योग सञ्चालनमा आए नेपाल विदेशबाट आयात हुने एन्टी स्नेक भेनममाथिको निर्भरता घटाउन सक्ने र औषधि अभावका कारण हुने मृत्यु न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने उनको दाबी छ।

तर करिब १५ करोड रुपैयाँ लगानी भइसकेको उद्योग अहिले थप पूँजी जुटाउन नसक्दा संकटको डिलमा पुगेको छ।

नेपालमै उत्पादन सम्भव हुँदाहुँदै सरकारी निकायबीचको समन्वय अभाव र वित्तीय पहुँचकै कारण उद्योग रोकिएको अवस्थाले अर्को प्रश्न खडा गरेको छ—जीवनरक्षक औषधिमा आत्मनिर्भर बन्न सक्ने सम्भावना बोकेको उद्योगलाई सरकारले समयमै जोगाउन सक्छ कि सक्दैन?

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.