काठमाण्डौ। जापानको राजधानी टोकियोमा पछिल्लो एक शताब्दीमा औसत तापक्रम करिब ३ डिग्री सेल्सियसले बढेको पाइएको छ। यसमध्ये करिब १ डिग्री सेल्सियस वृद्धि जलवायु परिवर्तनका कारण भएको र बाँकी २ डिग्री सेल्सियस वृद्धि सहरी तापद्वीप प्रभावका कारण भएको विज्ञहरूले बताएका छन्।
जापानको नेसनल इन्स्टिच्युट फर इन्भाइरोन्मेन्टल स्टडिजअन्तर्गत जलवायु परिवर्तन प्रभाव अनुगमन शाखाका प्रमुख काजुताका ओकाका अनुसार कंक्रिट र डामरले दिनभर सूर्यको ताप सोस्ने र रातिसम्म बिस्तारै उत्सर्जन गर्ने भएकाले सहरको तापक्रम बढ्ने गरेको छ।
यसका साथै भवन, सवारीसाधन तथा वातानुकूलन प्रणालीबाट निस्कने अतिरिक्त तापले पनि वातावरणलाई थप तातो बनाइरहेको छ। ओकाले यस अवस्थालाई ‘नकारात्मक चक्र’ का रूपमा व्याख्या गरेका छन्। तापक्रम बढ्दै जाँदा मानिसले एयर कन्डिसनर बढी प्रयोग गर्छन् र त्यसबाट बाहिर निस्कने तापले पुनः बाहिरी वातावरणलाई तातो बनाउँछ।
जापानमा विगतमा निकै दुर्लभ मानिने ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम पछिल्ला वर्षहरूमा बढ्दो रूपमा देखिन थालेको छ। जापान मौसम विज्ञान एजेन्सीले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम भएका दिनलाई ‘कोकुशोबी’ अर्थात् अत्यन्तै भीषण गर्मीको दिन भनेर सम्बोधन गर्न थालेको छ।
तर गर्मीको जोखिम तापक्रममा मात्र निर्भर हुँदैन। टोकियोमा उच्च आर्द्रताका कारण शरीरबाट निस्कने पसिना सजिलै वाष्पीकरण हुन नसक्दा शरीरको प्राकृतिक शीतलन प्रक्रिया प्रभावित हुन्छ। विज्ञहरूका अनुसार चिसो वा मध्यम तापक्रम भएको क्षेत्रबाट टोकियो पुग्ने मानिसलाई उच्च तापक्रम र आर्द्रताको संयोजनसँग अभ्यस्त हुन अझ कठिन हुने गरेको छ।
हाल टोकियोका बासिन्दाले पोर्टेबल पंखा, पराबैजनी किरणबाट जोगाउने छाता, चिस्याउने वाइप्स तथा स्प्रे लगायतका आधुनिक उपाय पनि प्रयोग गरिरहेका छन्।
तापक्रम बढ्दै जाँदा मानिसहरूको दैनिक गतिविधिमा समेत परिवर्तन आएको छ। अध्ययनअनुसार दिउँसो बाहिर निस्कने क्रम घट्दै गएको र मानिसहरूले आफ्ना गतिविधि साँझतर्फ सार्न थालेका छन्। विज्ञहरूले अत्यधिक गर्मीबाट जोगिन यात्राको समय र मार्ग परिवर्तन गर्ने, बीच–बीचमा विश्राम लिने तथा ठूलो बाहिरी कार्यक्रमअघि शरीरलाई क्रमशः गर्मीमा अभ्यस्त गराउने सुझाव दिएका छन्।
विशेषज्ञहरूका अनुसार लामो हुँदै गएको गर्मीको मौसमले मानिसको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य, खाद्य उत्पादन तथा जापानका परम्परागत मौसमी संस्कृतिमा समेत असर पार्न सक्छ।
जापानमा हिटस्ट्रोक अर्थात् अत्यधिक गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट प्रत्येक वर्ष १,५०० भन्दा बढी मानिसको मृत्यु हुने अनुमान गरिएको छ। यो संख्या भूकम्प तथा आँधीसहितका प्राकृतिक विपत्तिबाट हुने वार्षिक मृत्युभन्दा करिब १० गुणा बढी रहेको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।