काठमाण्डौ । नेपालमा एसआरएम ब्रान्डका विद्युतीय सवारी साधन (ईभी) को बिक्री १ हजार १११ थान पुगेको छ। आधिकारिक आयातकर्ता तथा वितरक भिजी मोटर्सले अब नेपाली बजारमा एसआरएमका १० हजार थान विद्युतीय सवारी पुर्याउने दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ।
भिजी मोटर्सले अगस्ट २०२३ मा नेपालमा एसआरएम ईभीको बिक्री सुरु गरेको थियो। बजारबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको र बिक्रीको महत्वपूर्ण कोसेढुंगा पार गरेसँगै कम्पनीले बिक्रीपछिको सेवा तथा ग्राहक सेवाको सञ्जाल विस्तारमा थप ध्यान दिने जनाएको छ।
१ हजार १११ थान ईभी बिक्री भएको अवसरमा भिजी मोटर्सले विशेष समारोह आयोजना गरेको थियो। कार्यक्रममा एसआरएमका प्रतिनिधि, ग्राहक, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता थियो।
कार्यक्रममा एसआरएमका एसियाली बजारका महाप्रबन्धक वाङ लु, एसियाली बजारका बिक्री प्रबन्धक लुसिया वाङ, भिजी मोटर्सका प्रबन्ध निर्देशक विशाल अग्रवाल, प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे, बिजनेस हेड चन्दन रौनियारलगायतको उपस्थिति थियो। चर्चित नेपाली तेक्वान्दो खेलाडी तथा एसआरएमका ब्रान्ड एम्बेसडर दीपक विष्ट पनि कार्यक्रममा सहभागी थिए।
एसआरएम र भिजी मोटर्सले १ हजार १११ थान सवारी बिक्रीको उपलब्धिलाई ‘१,१११ यात्रा, १,१११ जीविका र १,१११ कथा’ का रूपमा व्याख्या गरेका छन्।
कम्पनीका अनुसार एसआरएमका विद्युतीय सवारी यात्रु ओसारपसार, विद्यालय तथा संस्थागत यातायात, सामान ढुवानी र साना व्यवसायका विभिन्न प्रयोजनमा प्रयोग हुँदै आएका छन्।
नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर एसआरएमका विद्युतीय सवारीमा ग्राउन्ड क्लियरेन्स बढाउनुका साथै मोटरको शक्ति र टर्कमा समेत वृद्धि गरिएको कम्पनीको भनाइ छ। कम्पनीले सीएटीएलका ब्याट्री प्रयोग गर्दै आएको जनाएको छ। एसआरएमले सर्तसहित ब्याट्रीमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको छ।
भिजी मोटर्सका अनुसार नेपालमा एसआरएमका ३० भन्दा बढी सर्भिस टचपोइन्ट तथा वर्कसप सञ्चालनमा छन्। विद्युतीय सवारीको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै नेपालभर १०० भन्दा बढी चार्जिङ स्टेसन स्थापना भइसकेका छन्।
कम्पनीले ४० जिल्लाका १,५०० भन्दा बढी मेकानिक तथा ५० भन्दा बढी ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकलाई ईभी प्रविधि र सडक सुरक्षासम्बन्धी तालिम दिएको जनाएको छ।
एसआरएमले नेपाली बजारमा आफ्नो उत्पादन विस्तार गर्ने क्रममा दुईवटा विद्युतीय ट्रक र एउटा एमपीभी ल्याउने तयारीसमेत गरिरहेको छ।
१,१११ थान बिक्रीको अवसरमा आयोजित कार्यक्रममा महत्वपूर्ण ग्राहक तथा साझेदारलाई सम्मानसमेत गरिएको थियो। हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजलाई १,०००औं एसआरएम खरिदकर्ता तथा युरो स्कुल, छाउनीलाई सबैभन्दा धेरै एसआरएम ईभी खरिद गर्ने संस्थाका रूपमा सम्मान गरिएको थियो।
त्यस्तै, डिस्कभरी एजुकेसन नेटवर्क काठमाडौं प्रालिलाई एसआरएम पायोनियर अवार्ड प्रदान गरिएको थियो।
१,१११ थान बिक्रीको उपलब्धिपछि भिजी मोटर्सले नेपालमा १० हजार एसआरएम विद्युतीय सवारी बिक्री गर्ने नयाँ लक्ष्य तय गरेको छ। कम्पनीले चार्जिङ पूर्वाधार, सर्भिस सुविधा, प्राविधिक तालिम, स्पेयर पार्ट्सको उपलब्धता तथा ग्राहक सेवामा थप लगानी गर्दै विद्युतीय व्यावसायिक सवारीको प्रयोग देशभर विस्तार गर्ने योजना अघि सारेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।