काठमाण्डौ। चीनतर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले अटोमोबाइल क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। दसैं–तिहारलाई लक्षित गरी आयात गरिएका ७०० भन्दा बढी सवारीसाधन बाढीले बगाएको व्यवसायीहरूले बताएका छन्।
रसुवा भन्सार क्षेत्र तथा आसपासका पार्किङ क्षेत्रमा राखिएका विभिन्न कम्पनीका सवारीसाधन बाढीको चपेटामा परेका हुन्। प्रारम्भिक विवरणअनुसार साइमेक्स इंकले सबैभन्दा ठूलो क्षति व्यहोेरेको छ। कम्पनीले आयात गरेका बीवाईडीका २०० भन्दा बढी विद्युतीय गाडी बाढीले बगाएको बताइएको छ।
त्यस्तै, एमजी लगायतका ब्रान्ड बिक्री गर्ने पारामाउन्ट मोटर्सका करिब १८० वटा सवारीसाधन बाढीमा परेको व्यवसायीहरूले बताएका छन्। ओमोडाका ६५, फोटोनका ६० तथा एमएडब्ल्यू वृद्धिले आयात गरेका विभिन्न ब्रान्डका ८१ वटा गाडीसमेत बाढीले बगाएको प्रारम्भिक विवरण छ।
व्यवसायीहरूका अनुसार बीएआईसी र आर्कफक्सका करिब ३०–३५ वटा सवारीसाधन पनि बाढीमा परेका छन्। स्काइवेल, म्याक्सस, सीजी मोटर्सलगायत अन्य कम्पनीले आयात गरेका सवारीसाधनमा समेत ठूलो क्षति पुगेको बताइएको छ।
चिनियाँ सवारीसाधन आयातकर्ताले मुख्यतः रसुवा–केरुङ नाका प्रयोग गर्दै आएका छन्। तातोपानी नाका सडक क्षतिका कारण करिब एक महिनादेखि सञ्चालनमा नरहेको र कोरला नाकाबाट आयात गर्दा लागत बढ्ने भएकाले व्यवसायीहरू रसुवा नाकामै निर्भर थिए।
गत वर्ष असारको अन्तिम साता आएको बाढीका कारण रसुवा नाका बन्द हुँदा व्यवसायीहरूले बाध्य भएर कोरला नाका प्रयोग गरेका थिए। त्यसबेला सीजी मोटर्सले ठूलो क्षति बेहोरेको थियो। यसपटक भने अधिकांश प्रमुख अटोमोबाइल कम्पनीका सवारीसाधन बाढीमा परेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।