बुधबार, भाद्र १०,२०८३ 07:49:26
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 07:49:26
Bizshala
Global IME Bank Limited

टिमुरे भन्सार क्षेत्रबाट ३०० बढी गाडी बगे

टिमुरे भन्सार क्षेत्रबाट ३०० बढी गाडी बगे
New Office

काठमाण्डौ। रसुवा जिल्लाको भोटेकोशी खोलामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीका कारण नेपाल भित्रिन तयार अवस्थामा रहेका सयौं सवारीसाधन बगेका छन्। रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार बाढीले ३०० भन्दा बढी विद्युतीय गाडी तथा ट्रक बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाका अनुसार बाढीले भन्सार क्षेत्र पूर्णरूपमा तहसनहस बनाएको छ। बाढी आउँदा ती सवारीसाधन भन्सार जाँचपास हुने क्रममा रहेको उनले बताए।

‘त्यो सबै बगाएको छ। टिमुरे बजार र रसुवागढी नाकातर्फ ठाउँ–ठाउँमा रोकेर राखिएका गाडीको हिसाबकिताब नै छैन। बाटैभरि गाडी थिए,’ ढुंगानाले भने।

रसुवागढी भन्सारमार्फत वुलिङ, एमजी, आर्कफक्स, जेटोर, बेइक, बीवाईडी, नामी, ओमोडा एन्ड जेकोलगायतका विद्युतीय सवारीसाधन नेपाल भित्रिने गरेका छन्।

लक्ष्मी ग्रुपअन्तर्गत लक्ष्मी हुन्डाई प्रालिका जनरल म्यानेजर दीपक थपलियाका अनुसार बाढीका कारण कम्पनीका कति सवारीसाधनमा क्षति पुगेको भन्ने यकिन विवरण प्राप्त हुन सकेको छैन।

Bizshala
CG Motors

लक्ष्मी ग्रुपका आर्कफक्स, जेटोर र बेइक ब्रान्डका करिब ४० देखि ५० वटा गाडी चीनबाट नेपाल भित्रिने क्रममा रहेको उनले बताए। तर कम्पनीका प्रतिनिधिहरूसँग सम्पर्क हुन नसक्दा तीमध्ये कति गाडी भन्सार क्षेत्रमा थिए र कति अन्य स्थानमा थिए भन्ने यकिन हुन नसकेको उनको भनाइ छ।

बाढीका कारण बीवाईडीका सवारीसाधनमा समेत ठूलो क्षति पुगेको आशंका गरिएको छ। बीवाईडीका नेसनल सेल्स हेड आशुतोष गौतमका अनुसार नाडा र नाइमा बुक भएका सवारीसाधन ग्राहकलाई डेलिभरी दिन ठूलो संख्यामा गाडी रसुवागढी नाकातर्फ ल्याइँदै थिए।

उनका अनुसार केही गाडी भन्सार छुट्ने प्रक्रियामा समेत थिए। तर बाढीपछि नेपाल तथा चीनतर्फ रहेका सवारीसाधनको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।

‘बाढीबाट कति गाडीमा क्षति पुग्यो भन्ने जानकारी पाउन सकिएको छैन। केही गाडी भन्सार छुट्ने क्रममा थिए। नेपाल र चीनतर्फ कति गाडी छन् भन्ने खबर छैन,’ गौतमले भने।

बाढीले रसुवा भन्सार क्षेत्र तथा आसपासमा ठूलो क्षति पुर्‍याएपछि सवारीसाधनको वास्तविक क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको छ। प्रभावित क्षेत्रमा सञ्चार तथा यातायातसमेत अवरुद्ध भएकाले कम्पनीहरूले आफ्ना प्रतिनिधि तथा सवारीसाधनको अवस्था यकिन गर्न सकेका छैनन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.