काठमाण्डौ । आर्थिक वर्षको अन्तिम महिनामा बजार महँगी एकाएक चर्किएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २०८३ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ।
अघिल्लो वर्षको असारमा यस्तो मुद्रास्फीति २.२० प्रतिशत मात्र थियो। अर्थात् वस्तु तथा सेवाको मूल्य दोब्बर भएको होइन, मूल्यवृद्धिको दर एक वर्षमै दोब्बरभन्दा बढी भएको हो।
गत आर्थिक वर्ष २०८२/८३ भरिको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने ३.०८ प्रतिशतमा सीमित छ। अघिल्लो आर्थिक वर्ष यस्तो औसत मुद्रास्फीति ४.०६ प्रतिशत थियो। वार्षिक औसत कम देखिए पनि वर्षको अन्त्यतिर महँगी तीव्र गतिमा बढेको तथ्यांकले देखाएको छ।
गैरखाद्य वस्तु र सेवाले बढायो दबाब
समीक्षा अवधिमा खाद्य वस्तुभन्दा गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि बढी देखिएको छ। यस समूहको वार्षिक औसत मुद्रास्फीति अघिल्लो वर्षको ३.७१ प्रतिशतबाट बढेर ४.२१ प्रतिशत पुगेको छ।
असार महिनामा मात्र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.०८ प्रतिशत पुगेको छ।
यस समूहभित्र ‘विविध वस्तु तथा सेवा’को मूल्य सबैभन्दा धेरै १७.६१ प्रतिशत बढेको छ। शिक्षातर्फ ७.०४ प्रतिशत, यातायातमा ५.८० प्रतिशत र कपडा तथा जुत्ताचप्पलमा ५.५६ प्रतिशत मूल्यवृद्धि भएको छ।
यसले दैनिक उपभोग मात्र नभई शिक्षा, यातायात र अन्य सेवाको लागतसमेत उपभोक्ताका लागि महँगिँदै गएको देखाउँछ।
खाद्य महँगी पनि असारमा उकालो
खाद्य तथा पेय पदार्थ समूहमा घिउ तथा तेलको मूल्य १०.०५ प्रतिशत बढेको छ। फलफूल ७.०९ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थ ३.२८ प्रतिशत महँगिएका छन्।
तरकारीको मूल्य ३.९५ प्रतिशत, मरमसला ३.६६ प्रतिशत र दाल तथा गेडागुडी ३.४१ प्रतिशत घटेका कारण आर्थिक वर्षभरको खाद्य समूहको औसत मुद्रास्फीति भने १.०४ प्रतिशतमा सीमित भएको छ।
तर असारको मात्रै तथ्यांक हेर्दा खाद्य समूहको बिन्दुगत मुद्रास्फीति ५.२५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको असारमा यही समूहको मुद्रास्फीति १.१९ प्रतिशत ऋणात्मक थियो।
थोक बजारमा झन् ठूलो उछाल
उपभोक्ता तहमा मात्र होइन, थोक बजारमा समेत महँगी तीव्र देखिएको छ।
आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत थोक मुद्रास्फीति ४.२७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो दर ३.८४ प्रतिशत थियो।
झन् असार महिनाको बिन्दुगत तथ्यांक हेर्दा थोक मुद्रास्फीति ६.६७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष असारमा यो केवल १.०५ प्रतिशत थियो।
यसरी थोक मूल्यवृद्धि उपभोक्ता मुद्रास्फीतिभन्दा पनि उच्च देखिनुले आगामी अवधिमा खुद्रा बजारको मूल्यमा थप दबाब पर्न सक्ने संकेत गर्छ।
तराई र काठमाडौंमा बढी महँगी
भौगोलिक क्षेत्रअनुसार ग्रामीण क्षेत्रमा वार्षिक औसत मुद्रास्फीति २.६५ प्रतिशत रहँदा सहरी क्षेत्रमा ३.२२ प्रतिशत पुगेको छ।
क्षेत्रगत रूपमा तराईमा सबैभन्दा बढी ३.२८ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१६ प्रतिशत औसत मूल्यवृद्धि देखिएको छ।
प्रदेशगत आधारमा कोशी प्रदेशमा ३.७७ प्रतिशत र मधेस प्रदेशमा ३.६५ प्रतिशत वार्षिक औसत मुद्रास्फीति रहेको छ।
असार महिनाको मात्र अवस्था हेर्दा मधेस प्रदेशमा मुद्रास्फीति ५.९४ प्रतिशत पुगेको छ। सुदूरपश्चिममा भने सबैभन्दा कम २.०५ प्रतिशत मूल्यवृद्धि देखिएको छ।
भारतभन्दा नेपालको महँगी माथि
नेपाल राष्ट्र बैंकको तथ्यांकले पछिल्लो अवधिमा नेपालको मुद्रास्फीति छिमेकी भारतभन्दा समेत माथि पुगेको देखाएको छ।
२०८३ असारमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत रहँदा सन् २०२६ जुलाईमा भारतको मुद्रास्फीति ४.४५ प्रतिशत रहेको छ।
आर्थिक वर्षभर औसत मुद्रास्फीति तुलनात्मक रूपमा नियन्त्रणमै देखिए पनि वर्षको अन्तिम महिनामा उपभोक्ता र थोक दुवै तहमा आएको तीव्र उछालले आगामी महिनाको मूल्य प्रवृत्तिमाथि चासो बढाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।