काठमाण्डौ । नेपालमा आएको विनाशकारी बाढीपछि बहुराष्ट्रिय प्रविधि कम्पनी इन्फोसिसअन्तर्गतको इन्फोसिस पब्लिक सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) लक्ष्मिनाथ ‘लक्ष’ गोपिसेट्टी नेपालमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।
इन्फोसिसले शुक्रबार जारी गरेको आधिकारिक विज्ञप्तिमार्फत गोपिसेट्टी व्यक्तिगत भ्रमणका क्रममा नेपाल आएको र त्यसयता उनीसँग सम्पर्क हुन नसकेको जनाएको हो।
कम्पनीका अनुसार गोपिसेट्टीको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। साथै, उनको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको इन्फोसिसले जनाएको छ। कम्पनीले नेपालमा आएको प्राकृतिक विपद्प्रति दुःख व्यक्त गर्दै बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति समवेदना प्रकट गरेको छ।
नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। उपलब्ध विवरणअनुसार विपद्मा परी हालसम्म ५८४ जनाको मृत्यु भएको छ भने २ हजार ४८२ जना बेपत्ता छन्। बेपत्ता हुनेहरूको सूचीमा गोपिसेट्टी पनि रहेको बताइएको छ।
यसैबीच, भारतीय विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको बाढीका कारण कम्तीमा ३२० जना भारतीय नागरिक अझै बेपत्ता छन्।
मन्त्रालयका अनुसार तिब्बत क्षेत्रमा करिब ४०० जना भारतीय नागरिक फसेका छन्। उनीहरूको सकुशल उद्धारका लागि प्रयास भइरहेको जनाइएको छ।
भारतीय विदेश मन्त्रालयले विपद्को यस घडीमा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन भारत तयार रहेको जनाएको छ। चीनतर्फ फसेका १५३ जना भारतीय नागरिक भने सकुशल नेपाल आइपुगेको मन्त्रालयले जनाएको छ।
लक्ष गोपिसेट्टी सार्वजनिक क्षेत्रका संस्थाहरूलाई रणनीति, प्रविधि, सञ्चालन तथा डिजिटल रूपान्तरणका विषयमा परामर्श प्रदान गर्दै आएका छन्।
उनी इन्फोसिस पब्लिक सर्भिसेजको रणनीतिक दिशा तथा संस्थागत उद्देश्य कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीमा छन्। यसअघि उनी इन्फोसिसमा ग्लोबल भाइस प्रेसिडेन्ट तथा बिजनेस एप्लिकेसन र डिजिटल वर्कस्पेस सर्भिसेसका प्रमुखका रूपमा कार्यरत थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।