काठमाडौं । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले भदौ १६ गते घोषणा गर्नुपर्ने करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित गरेको छ।
विभागले चालु आर्थिक वर्षदेखि हरेक महिनाको पहिलो दिन र १६ गते करदाता प्रोत्साहन पुरस्कारको विजेता घोषणा गर्दै आएको थियो। तर रसुवा र नुवाकोटसहित विभिन्न क्षेत्रमा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि भदौ १६ गतेको पुरस्कार घोषणा नगर्ने निर्णय गरिएको विभागले जनाएको छ।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटका अनुसार स्थगित गरिएको भदौ १६ गतेको पुरस्कारसहित भदौ महिनाभरिका विजेताको घोषणा अब आगामी असोज १ गते गरिनेछ।
विभागले विपत्तिको समयमा देश शोकमा रहेकाले नियमित प्रोत्साहन कार्यक्रमलाई तत्कालका लागि स्थगित गरिएको जनाएको छ।
रसुवा र नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्राथमिकतामा राखिरहेका बेला विभिन्न सरकारी निकायले पनि आफ्ना नियमित कार्यक्रम स्थगित तथा समायोजन गरिरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।