काठमाण्डौ । कुमारी बैंक लिमिटेड ग्लोबल कार्बन अकाउन्टिङ एलायन्स (PCAF) मा आबद्ध भएको छ। बैंकले PCAF मा आबद्ध हुँदै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनमा थप पारदर्शिता अपनाउने प्रतिबद्धता जनाएको छ।
PCAF को सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक रूपमा खुलासा गर्न PCAF का विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधि प्रयोग गर्ने जनाएको छ। बैंकका अनुसार यस पहलले जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ।
न्यून–कार्बन तथा जलवायु–उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बैंकको भनाइ छ। PCAF मा आबद्ध भएपछि बैंकले आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्ने र त्यसबाट प्राप्त तथ्य तथा जानकारीलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनसम्बन्धी पहलमा उपयोग गर्ने लक्ष्य राखेको छ।
PCAF वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जनको एकरूप रूपमा मूल्यांकन तथा खुलासा गर्न सहजीकरण गर्छ। यसको विश्वव्यापी सञ्जालले वित्तीय संस्थाहरूलाई लगानीसँग सम्बन्धित उत्सर्जन मापन गर्न तथा जलवायु सम्बन्धी पारदर्शिता सुधार गर्न साझा ढाँचा उपलब्ध गराउँदै आएको छ।
कुमारी बैंकका लागि PCAF को सदस्यता आफ्नो व्यापक दिगोपन यात्रामा महत्वपूर्ण प्रगति भएको बैंकले जनाएको छ। यसले बैंकको व्यवसाय तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायु सम्बन्धी पक्षलाई एकीकृत गर्ने प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्ने बैंकको भनाइ छ।
कुमारी बैंकको सस्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले PCAF मा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए।
“हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढ्न तथ्य तथा जानकारीमा आधारित परिपक्व निर्णय लिन सहयोग पुग्नेछ,” उनले भने।
बैंकले आगामी दिनमा दिगो वित्तका अवसर विस्तार गर्ने, आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय तथा जलवायु सम्बन्धी पक्षलाई थप एकीकृत गर्ने र नेपालको दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्याउन सरोकारवालासँग सहकार्य गर्ने जनाएको छ।
देशभर व्यापक बैंकिङ सञ्जाल रहेको कुमारी बैंकले लक्षित समुदायमा दिगो वित्तीय पहल विस्तार तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफ्नो स्थापित सञ्जाल उपयोग गर्ने जनाएको छ। बैंकका अनुसार हाल देशभर २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १,२३३ एबीबी टर्मिनल सञ्चालनमा छन्। बैंकले डिजिटल बैंकिङ प्लेटफर्म, मोबाइल बैंकिङ तथा अन्तर्राष्ट्रिय भिसा कार्ड सेवासमेत प्रदान गर्दै आएको छ।
ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमा केन्द्रित हुँदै बैंकले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो भूमिका सुदृढ गर्दै आएको जनाएको छ।
उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै देशव्यापी पहुँचमार्फत समावेशी तथा जिम्मेवार वित्तीय समाधान प्रवर्द्धन गर्ने बैंकको योजना छ।
PCAF सन् २०१९ को सेप्टेम्बरमा विश्वव्यापी रूपमा स्थापना भएको पहल हो। हाल ७०० भन्दा बढी वित्तीय संस्था यसमा आबद्ध भइसकेका छन्। PCAF मा सहभागी वित्तीय संस्थाहरूले वित्तीय क्षेत्रका लागि विकसित तथा कार्यान्वयन गरिएका साझा मापदण्डअनुसार आफ्ना ऋण तथा लगानीसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जन मापन तथा खुलासा गर्ने गर्छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।