काठमाण्डौ। केडिया ग्रुपको आयोजनामा भइरहेको एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट सङ्कलित ५ लाख ९० हजार १५० रुपैयाँ बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आयोजकले लिग सुरु हुनुअघि नै पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियो।
सोही प्रतिबद्धताअनुसार टिकट बिक्रीबाट प्राप्त ५ लाख ९० हजार १५० रुपैयाँ कोषमा जम्मा गरिएको आयोजकले जनाएको छ।
केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकम बराबरको चेक मंगलबार सिंहदरबारमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
भलिबल खेलमार्फत मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गरिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।