काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते देशभर भएको व्यापक तोडफोड, आगजनी र विध्वंसमा संलग्न वास्तविक दोषीको पहिचान गरी कारबाही गर्न सरकार असफल भएको बताएका छन्।
घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै प्रचण्डले केही घण्टामै देशका विभिन्न भागमा देखिएको विध्वंस सामान्य वा स्वतःस्फूर्त घटनामात्र नभई गम्भीर अनुसन्धानको विषय भएको बताएका हुन्।
उनले उक्त विध्वंस कसले, किन र कुन उद्देश्यले गराएको थियो भन्ने विषय अझै स्पष्ट हुन नसकेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न गहिरो अध्ययन र अनुसन्धान आवश्यक रहेको बताएका छन्।
‘यो विध्वंस मच्चाउने तत्व को हुन् ? वास्तविक दोषी को हुन् ? यसको सत्यतथ्य अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने कुरा असाध्यै महत्वपूर्ण छ,’ प्रचण्डले भनेका छन्।
तर घटना भएको एक वर्ष बितिसक्दा पनि दोषीमाथि अनुसन्धान र कारबाहीको प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको उनको आरोप छ।
मानव अधिकार आयोगको प्रतिवेदनसमेत ‘दराजमा थन्कियो’
प्रचण्डले भदौ २३ र २४ गतेका घटनासम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदनसमेत कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
‘मानव अधिकार आयोगद्वारा तयार पारिएको प्रतिवेदन पनि कार्यान्वयनतिर अगाडि बढेको छैन, बरु दराजमा थन्क्याउने काम भएको छ,’ उनले भने।
उनले घटनाको सत्यतथ्य सार्वजनिक नगर्नु र दोषीमाथि कारबाही नहुनुले भदौ २४ को विध्वंसबारे थप प्रश्न उठाएको बताएका छन्।
‘भदौ २३ को आन्दोलन भदौ २४ मा अपहरण भयो’
प्रचण्डले गत वर्ष भदौ २३ गते युवाहरूले सुशासन, पारदर्शिता र परिवर्तनको मागसहित आन्दोलन गरेको स्मरण गर्दै भदौ २४ गते देखिएको घटनाक्रममा ती युवाको वास्तविक भावना र प्रतिनिधित्व नरहेको दाबी गरेका छन्।
उनका अनुसार भदौ २३ को आन्दोलनले उठाएको मुद्दा र भदौ २४ मा भएको विध्वंसको चरित्र फरक थियो।
‘भदौ २४ मा ती भावना र आकांक्षाको प्रतिनिधित्व भएन, बरु जेनजी युवाहरूको भावना र आकांक्षामाथि प्रहार भयो,’ उनले भनेका छन्।
उनले भदौ २३ को आन्दोलनलाई अन्य समूहले आफ्नो नियन्त्रणमा लिएर मूल उद्देश्यबाट विचलित गराएको आरोपसमेत लगाएका छन्।
‘२३ गतेको आन्दोलनलाई अपहरण गर्ने र त्यसलाई कब्जा गर्नेहरूकै हालिमुहाली भएको देखिन्छ,’ प्रचण्डले भनेका छन्।
सुरक्षा निकायदेखि राजनीतिक नेतृत्वसम्मको भूमिका छानबिन हुनुपर्ने
प्रचण्डले भदौ २४ को घटनालाई केवल आन्तरिक राजनीतिक घटनाका रूपमा मात्र हेर्न नहुने बताएका छन्।
उनका अनुसार यसको राष्ट्रियसँगै अन्तर्राष्ट्रिय आयामसमेत हुन सक्ने भएकाले तत्कालीन भूराजनीतिक परिस्थितिलाई समेत ध्यानमा राखेर अनुसन्धान गर्न आवश्यक छ।
‘अन्तर्राष्ट्रिय स्तरबाट पनि आजको भूराजनीतिको सन्दर्भमा यसको अध्ययन–अनुसन्धान हुन जरुरी छ,’ उनले भनेका छन्।
नेपालको आन्तरिक सन्दर्भमा तत्कालीन सुरक्षा निकाय, सरकारी संयन्त्र र राजनीतिक नेतृत्वले खेलेको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याइनुपर्ने प्रचण्डको धारणा छ।
‘नेपालको राष्ट्रिय आयामका दृष्टिले पनि हाम्रा सुरक्षा निकायहरूको भूमिकादेखि राजनीतिक नेतृत्वको भूमिकासम्म सबैको बारेमा अझ गहिरो अध्ययन र अनुसन्धान गर्न जरुरी छ,’ उनले भनेका छन्।
प्रचण्डले भदौ २४ को विध्वंसमा वास्तविक रूपमा को–को संलग्न थिए, कसको योजना र निर्देशनमा घटना भयो तथा जेनजी आन्दोलनको मूल मुद्दा कसरी अर्को दिशातर्फ मोडियो भन्ने प्रश्नको जवाफ नआएसम्म उक्त घटनाको अध्याय बन्द नहुने संकेत गरेका छन्।
घटनाको एक वर्ष पूरा हुँदा समेत दोषी पहिचान र कारबाही नभएको विषय उठाउँदै उनले निष्पक्ष अनुसन्धान र प्रतिवेदन कार्यान्वयनको माग गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।