काठमाण्डौ । गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनर्स्थापना कार्य सम्पन्न भएको छ।
बाढीले नेटवर्कका महत्वपूर्ण संरचनामा क्षति पुर्याएपछि प्रभावित भएका १ हजार ५४४ वटा FTTH लाइनमध्ये १ हजार ९३ वटा लाइन पुनः सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ।
बाढीका कारण रसुवागढी र बेत्रावतीमा एक–एक गरी दुईवटा OLT (Optical Line Terminal) तथा रसुवागढी, बेत्रावती र त्रिशूलीमा क्रमशः एक, एक र तीनवटा गरी पाँचवटा FDC (Fiber Distribution Cabinet) मा क्षति पुगेको थियो। त्यस्तै, करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बाढीले बगाएको थियो।
विपद्लगत्तै प्राविधिक जनशक्ति तथा आवश्यक स्रोत–साधन परिचालन गरी मर्मत तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइएको टेलिकमले जनाएको छ। निरन्तरको प्राविधिक प्रयासपछि प्रभावित सेवामध्ये अधिकांश पुनः सञ्चालनमा आएका हुन्।
टेलिकमका अनुसार अझै सञ्चालनमा आउन बाँकी रहेका लाइनहरू सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, बस्तीको स्थिति, प्राविधिक सम्भाव्यता तथा ग्राहकको मागलाई आधार बनाएर क्रमशः पुनः सञ्चालनमा ल्याइनेछ।
बाढीका कारण फाइबर नेटवर्कको भौतिक संरचनामै ठूलो क्षति पुगेकाले सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउन थप प्राविधिक काम आवश्यक रहेको कम्पनीले जनाएको छ।
प्राकृतिक विपद्को विषम परिस्थितिमा सेवाग्राहीलाई सकेसम्म छिटो र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको टेलिकमको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।